Sajhamanch Archive

स्रोत अभावमा हाम्रो बाह्रदशी अपाङ्गता अभियानको निर्माणाधिन भवन जीर्ण बन्दै

Published: in मुख्य समाचार, समाज, स्थानीय तह, by .

बाह्रदशी । एक दशक अघि निर्माण थालनी भएर आधा काम पछि अलपत्र परेको बाह्रदशी ६ स्थित हाम्रो बाह्रदशी अपाङ्गता अभियानको सामुदायिक भवन आर्थिक स्रोतको अभावले निर्माण अलपत्र बन्दा जीर्ण बन्दै गएको अवस्थामा पाइएको छ ।

२०६८ सालबाट निर्माण थालिएको सो भवन आवश्यक रकम जुटाउन नसकेपछि आधा काममा अलपत्र परेको हो । बाह्रदशी गाउँपालिका क्षेत्रका ५०० हाराहारी अपाङ्गता भएका नागरिकहरूको चौतर्फी विकासका लागि कार्यक्रम सञ्चालन गर्न देउसी भैलो खेलेर रकम जुटाउँदै निर्माण सुरु गरिएको थियो ।

हाम्रो बाह्रदशी अपाङ्गता अभियानका अध्यक्ष सन्तोष सुवेदीका अनुसार संस्थाका सदस्यहरूको पहलमा करिव ८ लाख खर्चेर जग उठाउन र चारैतिर पर्खाल लगाइएको छ । तर छत ढलान गरी प्रयोगमा ल्याउन सक्ने वातावरण नबनेपछि पर्खालमा झार र लेउले भरिएको अवस्था छ । अधुरो भवन निर्माण सम्पन्न गर्न अब सात लाख खर्च हुने जानकारी दिँदै अध्यक्ष सुवेदीले रकमको स्रोत नभएको दुखेसो पोखेका छन् ।

सुवेदीका अनुसार बाह्रदशी क्षेत्रमा अपाङ्गता भएका व्यक्तिका लागि सहज हुने कुनै सामुदायिक भवन नहुँदा क्षमता विकास कार्यक्रम गर्न सकिएको छैन । स्थानीय सरकारदेखि संघीय सरकारसम्म सहयोगको याचना गरिए पनि भवन निर्माणका लागि रकम जुटाउन नसकिएकोले सहयोगी मनहरुको खोजी गरिरहेको अध्यक्ष सुवेदीले सुनाएका छन् ।

एउटा सचिवालय कोठा र एक अपाङ्गतामैत्री सभाहल रहने भवन निर्माणका क्रममा तत्कालिन घैलाडुब्बा गाविसबाट ५० हजार र शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट एक लाख रुपैयाँ सरकारी सहयोग पाएको अध्यक्ष सुवेदी बताउँछन् ।

त्यस पछि स्थानीय सरकारसँग हार गुहार गर्दा पनि भवन निर्माणलाई सहयोग पुग्ने रकम सरकारी पक्षबाट नपाएको हाम्रो बाह्रदशी अपाङ्गता अभियानका सदस्यहरूको भनाइ छ । हरेक वर्ष देउसी खेलेर आधा काम भए पनि १० वर्षमा पनि पूरा गर्न नसकिएको उनीहरूको दुखेसो छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *