अपाङ्गता भएका २९ परिवारलाई बुधबारेमा खाद्यान्न वितरण
Published:
by .बुद्धशान्ति । बुधबारे जेसीज, बुद्धशान्तिका लागि हामी अभियान, बरपीपल बचत तथा ऋण सहकारी संस्था बुद्धशान्ति र जोइन्ट हेन्ड युथ सोसाइटीको संयुक्त पहलमा आज राहतस्वरु खाद्यान्न वितरण गरिएको छ ।
सो गाउँपालिका भित्रका २९ जना अपाङ्गता भएका विपन्न व्यक्तिहरुलाई खाद्यान्न वितरण गरिएको हो । झापाको चर्चित सामाजिक अभियान ‘एकका लागि एक’का सहसंयोजक बिनोद वस्नेतको प्रमुख आतिथ्यतामा उक्त राहत हस्तान्तरण गरिएको हो । ।
बुद्धशान्ति उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रमका बीच प्रति व्यक्ति एक बोरा चामल, दाल, तेल, न्युटेला, नून, साबुन तथा मास्क वितरण गरिएको हो । करिब ६० हजार रुपैयाँ मूल्य बराबरको सामान वितरण गरिएको जनाइएको छ ।
आयोजक संस्थाहरु बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्ले, बुद्धशान्तिका लागि हामी अभियानका संयोजक चन्द्र उप्रेती, बरपीपल बचत तथा ऋण सहकारी संस्था बुद्धशान्तिका अध्यक्ष हरि पौड्याल र जोइन्ट हेन्ड युथ सोसाइटीका अध्यक्ष सञ्जील प्रसाईको संयुक्त सभापतित्वमा कार्यक्रम गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बस्नेतले संकटको बेला राहत वितरण गरेर आयोजक सबै संस्थाले पुन्यको काम गरेको बताए । उनले एकका लागि एक अभियान आम नागरिकको साथले सञ्चालन भएकाले सदैव नागरिकको हितका निम्ति कार्य भइरहेको पनि अवगत गराए ।
शान्ति अपाङ्ग समाज बुद्धशान्तिका अध्यक्ष सावित्रा ढुंगेल, बुद्धशान्ति साप्ताहिकका अध्यक्ष मदन प्रसाईको आतिथ्यता रहेको कार्यक्रममा कार्यक्रम संयोजक बुधबारे जेसीजका कानुनी सल्लाहकार गजुहाङ योङहाङले स्वागत मन्तव्य र बुधबारे जेसीजका सदस्य गोकुल पौड्यालले जेसीज आस्था बाचन गरेका थिए ।
बुधबारे जेसीजका महासचिव सुजित बरालले सञ्चालन गरेको कार्यक्रममा शान्ति अपाङ् समाज बुद्धशान्तिका अध्यक्ष सावित्रा ढुंगेलसहित आयोजक चारवटै संस्थाका अध्यक्ष तथा प्रमुखहरुले सभापतिका रुपमा मन्तव्य राखेका थिए ।
Comments