यूएस ओपनको दोस्रो चरणमा हालेप
Published:
by .काठमाडौं । पूर्वविश्व नम्बर एक सिमोना हालेपले यूएस ओपन टेनिसमा विजयी सुरुवात गरेकी छन् । चोटका कारण यस वर्षका केही ग्रान्डस्लाम नखेलेकी हालेपले इटालीकी कामिला जियोर्गीलाई २–० को सोझो सेटमा हराएकी हुन् ।
मंगलबार बिहान सम्पन्न खेलमा हालेपले जियोर्गीलाई ६–४, ७–६ (७/३)को नतिजामा हराउँदै दोस्रो चरणमा स्थान बनाइन् । हालेपले अब स्लोभाकियाकी क्रिष्टिना कुकोभासँग प्रतिस्पर्धा गर्नेछिन् । कुकोभाले अमेरिकाकी आन लीलाई ७–५, ६–१ को सोझो सेटमा हराउँदै दोस्रो चरणमा स्थान पक्का गरेकी हुन् ।
हालेपले चोटका कारण विम्बल्डन टेनिस गुमाएकी थिइन् ।
पाँचौँ वरीयाताकी एलिना स्भितोलिनाले क्यानडाकी रेबेक्का मारिनोलाई २–० को सहज सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाइन् । युक्रेनकी स्भितोलिनाले मारिनोलाई ६–२, ६–३ को सेटमा हराएकी हुन् । स्भितोलिनाले अब दोस्रो चरणमा स्पेनकी रेबेका मासारोभासँग प्रतिस्पर्धा गर्नेछिन् ।
मासोरोभाले रोमानियाकी अना बोगडानलाई ६–७ (९/११), ७–६ (७/२), ७–६ (११र९)को संघर्षपूर्ण सेटमा हराएकी हुन् ।
दुईपटकको ग्रान्डस्लाम विजेता गार्बिन मुगुरुजाले डोन्ना भेइचलाई हराउँदै दोस्रो चरणमा स्थान बनाइन् । नवौँ वरीयाताप्राप्त मुगुरुजाले भेइचलाई ७–६ (७/४), ७–६ (७/५)को सेटमा हराएकी हुन् । स्पेनकी मुगुरुजाले अब जर्मनीकी अन्द्रिया पेटकोभिकविरुद्ध प्रतिस्पर्धा गर्नेछिन् । पेटकोभिकले रोमानियाकी इरिना कामेलिया बेगुलाई ६–२, ७–६ (७/३)को सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाएकी हुन् ।
जर्मनीकी एन्जेलिक केरबेरले युक्रेनकी डायना यास्त्रेमस्कालाई ३–६, ६–४, ७–६(७/३) को सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाउँदा सालोनी स्टेफिन्सले म्याडिसन किजलाई ६–३, १–६ ७–६ (९/७) को नतिजामा हराउँदै दोस्रो चरणको यात्रा तय गरिन् ।
अमेरिकाकी स्टेफिन्सले अब आफ्नै देशी युवा स्टार कोको गाउफविरुद्ध खेल्नेछिन् । १७ वर्षीया गाउफले पोल्यान्डकी माग्डा लिनेटलाई ५–७, ६–३, ६–४ को सेटमा हराउँदै दोस्रो चरणमा स्थान पक्का गरेकी हुन् ।
Comments