Sajhamanch Archive

सेयर धितो कर्जामा सीमा तोक्दा लगातार घट्दै नेप्से, ६ कारोबार दिनमै २२५ अंकको गिरावट

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । सेयर बजार परिसूचक नेप्से घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ । यही भदौ २ गते ३१९९.०३ अंकको ऐतिहासिक उचाइ कायम गरेर भदौ ३ गतेदेखि घट्न सुरु भएको नेप्सेमा निरन्तर गिरावट भइरहेको छ ।

गत साता तीन दिन खुलेको बजारमा दुई दिन नेप्सेमा गिवट भएको थियो । साताको अन्तिम कारोबार दिन नेप्सेमा वृद्धि भएको थियो ।

यो साता आइतबार झन्डै ५९ अंकको गिरावट भएको नेप्से आज ६९.०५ अंकको उच्च गिरावट हुँदा २९७५.८४ अंकमा बन्द भएको छ । भदौ २ गतेयताको ६ करोबार दिनमा नेप्सेमा करिब २२५ अंकको गिरावट भइसकेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिबाट मार्जिन प्रकृतिको सेयर धितो कर्जामा एक बैंकबाट ४ करोड र जम्मा १२ करोड रुपैयाँको व्यक्तिगत सीमा तोकेको र गत साता परिपत्र जारी गर्दै त्यसलाई कार्यान्वयन गरेसँगै सेयर बजार लगातार घटिरहेको छ । सेयर धितो कर्जाको उक्त व्यवस्थाले गर्दा सेयर बजारमा ठूला लगानीकर्ता प्रभावित हुने र जसको प्रभाव बजारमा देखिएको हो ।

बजार परिसूचकसँगै उबै उपसूचकमा गिरावट भएको छ । विकास बैंक, वित्त कम्पनी र हाइड्रोपावर उपसूचकमा उच्च गिरावट हुँदा सबै उपसूचकले साथ दिएको छ ।

आज नेप्सेमा विकास बैंक उपसूचक सर्वाधिक ३.४८ प्रतिशत, हाइड्रोपावर उपसूचक ३.६ प्रतिशत, वित्त कम्पनी उपसूचक ३.०६ प्रतिशत, अन्य उपसूचक ३.१८ प्रतिशत, लघुवित्त उपसूचक २.८२ प्रतिशत, उत्पादनमूलक उपसूचक ३.८१ प्रतिशत, निर्जीवन बिमा उपसूचक २.६३ प्रतिशत र जीवन बिमा उपसूचक २.५९ प्रतिशतले घटेको छ । यस्तै, बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा १.१५ प्रतिशतको गिरावट भएको छ ।

बजार परिसूचक लगातार घट्दा पनि कारोबार रकम भने १३ अर्ब नाघेको छ । आज नेप्सेमा २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता सेयर खरिद–बिक्री हुँदा १३ अर्ब २५ करोड ९६ लाख ९६ हजारको कारोबार भएको छ ।

आइतबार १ अर्बमाथिको कारोबार भएको अरुण भ्याली हाइड्रोपावरको आज पनि कारोबार रकम अर्ब नाघेको छ । कम्पनीको १ अर्ब १ करोड ५ लाख ७३ हजारको कारोबार हुँदा हिमालयन डिस्टलिरीको २९ करोड २३ लाख १४ हजार र अपी पावरको २९ करोड ७८ लाख २६ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा कुल १८६ कम्पनीको सेयर कारोबार भएकोमा १७२ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १४ कम्पनीको सेयर मूल्य भने बढेको छ । कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ७.५८ प्रतिशतले वृद्धि हुँदा मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य ६.०८ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य ५.९६ प्रतिशतले बढेको छ ।

सेयर मूल्य घट्नेमा भने हाइड्रोपावर कम्पनी अगाडि रहेका छन् । रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर नकारात्मक सर्किट लेभलमा बन्द हुँदा माउन्टेन हाइड्रोको सेयर मूल्य ७.७६ प्रतिशत, हिमालयन ऊर्जा विकास कम्पनीको ६.९२ प्रतिशत, सिभिल लघुवित्तको ५.५९ प्रतिशत र घलेम्दी हाइड्रोको सेयर मूल्य ५.९४ प्रतिशतले घटेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *