कर्णाली प्रदेश राष्ट्रिय प्राथमिकतामा : उपाध्यक्ष कँडेल
Published:
by .काठमाडौं । राष्ट्रिय योजना आयोगले कर्णाली प्रदेशको आर्थिक समृद्धि र सामाजिक रुपान्तरण विषयमा कर्णालीबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद र विज्ञहरुसंग नीति संवाद गरेको छ ।
आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कडेलको अध्यक्षतामा बिहीबार राष्ट्रिय योजना आयोगको सभाकक्षामा आयोजित कार्यक्रममा १७ जना सांसदले कर्णालीको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै पूर्व मन्त्री जनार्दन शर्माले सबैभन्दा पछि परेको क्षेत्र भएकाले कर्णालीको विकासमा ध्यान दिन आवश्यक रहेको बताए । उनले खासगरी कर्णालीमा सडक र विद्युत प्रशारण लाइन र कृषिमा सरकारले ध्यान दिनुपर्ने औंल्याए ।
पूर्वमन्त्री शर्माले कर्णालीको समस्या मात्र उजागर गर्नुभन्दा पनि समाधानको उपाय दिन राष्ट्रिय योजना आयोगलाई अनुरोध गरे ।
कार्यक्रममा पूर्वमन्त्रीसहित सांसदहरुले उठाएको सवाललाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेलले कर्णालीलाई उच्च प्राथमिकतामा राखिएको बताए ।
उपाध्यक्ष कँडेलले कर्णालीको विकासका लागि सडक, विद्युत लाइन, अप्टिकल फाइवर, वित्तीय संस्था, विद्यालय तथा विश्वविद्यालयमा लगानी गर्न आवश्यक रहेको प्रष्ट पारे ।
यहाँ उठेको सवाललाई आगामी १५औं योजनामा समेट्ने र आवश्यक परे राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पनि पेश गर्ने उपाध्यक्ष डा. कँडेलले आश्वासन दिएका आयोगका प्रेस संयोजक रामेश्वर कार्कीले जानकारी दिए ।
आयोगले नीति संवादको थालनी गरेको चौंथो पटक भए पनि तहगत रुपमा कर्णाली पहिलो भएको उपाध्यक्ष डा. कँडेलको तर्क थियो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका कर्णाली प्रदेश समन्वय गर्ने सदस्य मीनबहादुर शाहीले कर्णालीको आर्थिक सामाजिक अवस्थाको तथ्यांक प्रस्तुत गर्दै विषय प्रवेश गराएका थिए ।
Comments