उद्योगी व्यवसायीको समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको मुख्यमन्त्री आचार्यको भनाई
Published:
by .धरान । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले उद्योगी व्यवसायीहरुको समस्याप्रति प्रदेश सरकार गम्भीर भएको बताएका छन् । आर्थिक मन्दी, कोभिड–१९ का कारण भएको समस्याप्रति सरकार गम्भीर भएको बताउँदै उद्योग व्यवसाय प्रवर्धनका लागि प्रदेश सरकारले नयाँ कार्यक्रम ल्याउने उनको आश्वासन छ ।
शनिबार धरानमा सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले ‘यतिबेला राजनीतिक परिस्थिति प्रतिकूल छ, परिस्थिति अनुकूल भएपछि सरकारले प्रदेश १ को अर्थतन्त्र मजबुद बनाउने नयाँ योजना ल्याउने’ आश्वासन दिएका हुन् ।
क्याविनेटको पहिलो बैठकबाट यातायात व्यवास्था कार्यालय, मालपोत कार्यालयहरुबाट अनलाइन सेवा सञ्चालन गर्ने निर्णय गरेको जनाउँदै मुख्इमन्त्री आचार्यले कोभिडको प्रभाव न्यूनीकरणका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेर प्रदेश सरकारले काम थालेकोपनि बताए ।
प्रदेश सरकारको विकास समृद्धिका लागि उद्योगी व्यवसायीहरुसँग हातेमालो गरेर अगाडि बढ्ने सरकारको नीति भएकाले सरकारलाई सहयोग गर्नसमेत उनको आग्रह छ ।
कार्यक्रममा प्रदेश सभामुख प्रदिपकुमार भण्डारीले प्रदेशको आर्थिक समृद्धिका लागि उद्योगी र व्यवसायीको ठूलो भूमिका रहेको बताए ।
सो कार्यक्रममा मन्तब्य राख्ने सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटा, पूर्व अध्यक्ष मोहनकाजी शाक्य, प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठलगायतले व्यवसायी र उद्योगीहरुको तत्कालका समस्याहरु उठान गरेका थिए ।
Comments