बस्ती जोड्ने सडकको कज–वे खोलाले बगायो, ९० परिवारको आवतजावत बन्द
Published:
by .गौरीगञ्ज । तीन दिनदेखि भइरहेको निरन्तको बर्षासंगै कनकाई नदीको भंगालो पसेपछि बाटो बगाउँदा झापाको गौरीगञ्ज गाउँपालिका वडा नं. १ साविक महाभाराको होक्कलबारी बस्तीमा आवतजावत बन्द भएको छ ।
त्यहाँको बाँध भत्काएर टप्पु तर्फबाट कनकाईको पानी भंगालोका रुपमा होक्कलबारी तर्फ पसेको हो । केही दिनयता बाँधमा भइरहेको कटान रोक्न गरिएको रोकथामको प्रयासका बाबजुद सोमबार राति चौरी र होक्कलबारी बस्तीको बीच भागबाट भंगालो पसेको स्थानीय प्रेम राईले जानकारी दिएका छन् ।
‘टप्पु बस्ती आसपासका केही घर परिवारसमेत खोलाको बाढीका कारण विस्थापित हुनेक्रममा छन् । राति नै खोलो पसेछ, अहिले बाटोमा लगाएको कज–वे भत्काइरहेको छ, अब यहाँको आवतजावतका लागि डुंगाको बन्दोबस्ती गर्न जुटेका छौं’ राईले भनेका छन्् । उनका अनुसार कनकाईले धार परिवर्तन गरेर पहिलेकै स्थानमा फर्किंदा यसअघि सयौं परिवार विस्थापित भएको सो ठाउँमा हाल रहेका ९० घर परिवार समस्यामा परेका हुन । उनीहरुको बाहिरी सम्पर्क विच्छेद हुने खतरा बढेको जनाइएको छ ।
नदी कटान प्रभावित क्षेत्रमा यसअघि प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा अधिकारीहरु कांग्रेस झापाका नेता देउमान थेवेसहितको टोलीले स्थलगत निरीक्षण गरेको थियो । गौरीगञ्ज १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले कनकाईको कटानले बस्तीमा परेको प्रभावका बारेमा स्थानीय सरकारका अतिरिक्त माथिल्लो निकायको समेत ध्यानाकर्षण गराइएको र तत्काल आउन सक्ने जोखिमलाई मध्यनजर गरेर आवश्यक रोकथामका सबै प्रयासहरु शुरु गरिएको बताए ।
Comments