नेपालमा भारतीय निजी रेल्वे कम्पनीको ढुवानी सेवा सुरु
Published:
by .काठमाडौं । नेपालमा पहिलोपटक भारतीय निजी कम्पनीको रेलले ढुवानी सेवा सुरु गरेको छ । भारतीय कम्पनी हिन्द टर्मिनल प्रालीको रेल विभिन्न सामग्री बोकेर आज बिहान वीरगञ्ज सुख्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
भारतको हल्दियाबाट ९० वटा कन्टेनर बोकेको रेल बिहान वीरगञ्ज आइपुगेको समितिले जानकारी दिएको छ । यसअघि भारतको सरकारी स्वामित्वको कोन्कन रेलवे निगमले मात्रै नेपालमा सामान ढुवानी गर्न पाउने व्यवस्था रहेकोमा सरकारले निजी रेलले पनि सेवा दिन मिल्ने गरि रेलवे सम्झौता संशोधन गरेको थियो । गएको असार २५ गते सरकारले रेलवे सम्झौता संशोधन गर्दै भारतीय कम्पनी कोन्कनको एकाधिकार अन्त्य गरेको थियो ।
नेपालमा भारतीय निजी कम्पनीको प्रवेश भएसँगै ढुवानीमा प्रतिष्पर्धा बढेको र व्यापारीहरुले सस्तो भाडामा तथा झण्झटविनै सामान ल्याउन पाउने समितिका कार्यकारी आशिष गजुरेलले जानकारी दिए । उनले बन्दरगाहको क्षमता बढाएर ढुवानीलाई अझै सहज र सस्तो बनाइने बताए । अहिले एकतर्फी ढुवानी भएकोमा छिटै दुईतर्फी नै सेवा सुरु गरिने गजुरेलको भनाइ छ ।
Comments