कोभिड–१९ रोकथाम र न्यूनीकरणमा कारितास नेपालको सहयोग उल्लेख्य
Published: (Updated: )
by .दमक । कारितास नेपालले विपद व्यवस्थापनमा गरेको सहयोगको सरोकारवालाहरुले प्रशंसा गरेका छन् । कारितास नेपाल क्षेत्रीय कार्यालय दमकले बिहीबार दमकमा सरोकारवाला निकायसँग गरेको समीक्षा बैठकका सहभागीहरुले संस्थाको सहयोगको प्रशंशा गरेका हुन् ।
दमक क्षेत्रीय कार्यालयबाट कोभिड–१९ को समयमा झापा र मोरङका विभिन्न स्थानीय तह र सामुदायिक अस्पतालमा गरेको सहयोग र त्यसबाट नागरिकलाई पुगेको फाइदाका बारेमा कार्यालय प्रमुख देबेन्द्र पोख्रेलले जानकारी गराएका थिए ।
झापाको कमल गाउँपालिका, दमक, कनकाई र भद्रपुर नगरपलिका तथा मोरङको लेटाङ नगरपालिकामा कोभिड–१९ बाट संक्रमितहरुलाई कारितास नेपालले पोषिलो खानेकुरा र स्वस्थ्य सामग्री वितरण गरेको प्रमुख पोख्रेलले जनाएका थिए ।
त्यसैगरी झापाको आम्दा अस्पताल दमक, मेची प्रादेशिक अस्पताल भद्रपुर र कोशी कोभिड अस्पताल मोरङलाई परीक्षण किट, अक्सिजन सिलिण्डर, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री प्रदान गरेको थियो । योसँगै अस्पतालमा बिरामी र बिरामीका कुरुवाहरुलाई सहजताका लागि सहयोग गरिएको कारितास नेपालले जनाएको छ ।
समीक्षा बैठकमा सहभागी कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले कारितास नेपालसँग लामो समयदेखि सहकार्य गर्दै आइरहेको स्मरण गर्दै कारितासले स्वास्थ्य क्षेत्रमा मात्र नभएर किसानलाई विषादी प्रयोग न्यूनीकरण, भेलबाढीको समयमा पिडीतको उद्धार, युवा नमूना संसद सञ्चालन अभ्यासजस्ता थुप्रै काममा सहयोग पुर्याएको बताइन् ।
‘संघीय र प्रदेश सरकारबाट आएको निर्देशनले मात्र कोभिड नियन्त्रण हुनेवाला थिएन, यसमा कारितास नेपालको ठूलो सहयोग छ’ भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले भने, ‘नागरिकलाई कोभिड १९ संक्रमण भएका बेला उनीहरुको मनोबल बढाउनका लागि कारितास नेपालले गरेको सहयोग असाध्यै महत्वपूर्ण छ ।’ हरेक संक्रमितको घरघरमा पोषिलो खानेकुरा र स्वस्थ्य सामग्रीसहित कारितास नेपालका स्वयम्सेवक पुग्दा बिरामीको मनोबल बढाउन ठूलो मद्ध्त पुगेको नगरप्रमुख श्रेष्ठको भनाई थियो ।
आम्दा अस्पताल दमकका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार नेपालले चाहिँ कारितासको अक्सिजन सिलिण्डरलाई ‘कोभिडको बुटी’का रुपमा चित्रित गरे । कोभिडको पहिलो भेरियन्ट ट्रायलजस्तो भयो के गर्ने के नगर्ने ! यसैमा बित्यो । अहिले दोस्रोे चरणमा संक्रमण बढ्न नदिन तथा संक्रमितको उपचार व्यवस्थापनमा धेरै सहज भएको छ । ‘बिरामीको चापअनुसार अक्सिजन सिलिण्डर नभएका कारण अस्पताल समस्यमा रहेका बेला कारितासले २० वटा अक्सिजन सिलिण्डर उपलब्ध गाराएकोमा त्यो त कोभिडको बुटीजस्तै भएको थियो’ अधिकृत नेपालले बताए ।
‘कारितास नेपालसँग अहिलेमात्र होइन भुटानी शरणार्थीको बसोबास रहेका बेलादेखि नै सहकार्य गर्दै आइरहेका छौं’ दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीले भनिन्, ‘कोभिड–१९ को महामारीका समयमा सहकार्य र समन्वय गर्दै आम नागरिकका स्वस्थ्य सुरक्षाका लागिसमेत कारितास नेपालले गरेको सहयोग अतुलनीय छ ।’
हुने विरुवाको चिल्लो पात भने झैं जुन दिनदेखि कारितास नेपालसँग सहकार्य गर्न सुर गर्यौं, यसले नगरका कोभिड संक्रमित बिरामी र वैदेशिक रोजगारी गुमाएर फर्केमा युवालाई ठूलो सहयोग पुगेको छ । यसका साथै नगरपालिकाले आफ्नै नगरमा अक्सिजन प्लान्ट राख्ने योजना बनाएको हुँदा सोका लागि आवश्यक सहयोग र समन्वयका गरिदिन कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोख्रेलले कारितास नेपाललाई अनुरोध गरे ।
सो कार्यक्रममा कारितास नेपालका कार्यक्रम प्रमुख मणिन्द्र मल्लले स्वास्थ्य क्षेत्रका साथै प्राकृतिक विपद, कृषि, युवा लक्षित कार्यक्रमका साथै विभिन्न समुदायको आवश्यकता पहिचान गरी सहभागितामुलक कार्यक्रम सञ्चालन गर्नुका साथै आगामी दिनमा सक्दो सहयोग गर्ने सुनाए ।
कार्यक्रमको सहजीकरण कारितास नेपालका सामुदायिक सहजकर्ता गोविन्दराज कट्टेलले गरेका थिए ।
Comments