मेचीनगरमा ‘इलेक्ट्रो फेन्सिङ’का लागि सर्भे सकियो
Published:
by .मेचीनगर । जंगली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि ‘इलेक्ट्रो फेन्सिङ’ गर्नका लागि २० दिन अघिदेखि प्राविधिक टोलीले सुरु गरेको प्रारम्भिक सर्भेको काम सम्पन्न भएको छ ।
मेचीनगर नगरपालिकाले बिर्तामोडको हरियाली सामुदायिक वनदेखि चारआली वन खण्ड हुँदै मागुरमाडी वन मूल खण्डसम्म ५७ दशमलव ७ किलोमिटरमा ‘इलेक्ट्रो फेन्सिङ’ गर्ने लक्ष्यका साथ सर्भे गरेको हो । विद्युतीय तारवार गर्ने क्षेत्र निर्धारणका लागि ‘स्ट्रिङ इञ्जिनियरिङ्ग प्रालि’ले सर्भेको जिम्मा पाएको र समयमै सर्भे सम्पन्न गरिएको सर्भेयर सञ्जय मिश्रले जानकारी दिएका छन् ।
सर्भे टोलीले जंगली हात्तीबाट प्रभावित क्षेत्रमा पर्नेमा बस्ती, पर्यटकीय स्थल एवम् सामुदायिक वनका कार्यालयहरुलाई बाहिर पारेर हात्तीका लागि वैकल्पिक बाटो राखेर चुरेक्षेत्रलाई समेत ध्यानमा राखेर सर्भे गरेको सर्भेयर मिश्रको भनाई छ । मेचीनगर नगरपालिका र सो क्षेत्रका सांसदहरुको लामो प्रयासपछि ‘इलेक्ट्रो फेन्सिङ’ निर्माण कार्य हुन लागेको हो ।
‘स्ट्रिङ इञ्जिनियरिङ्ग प्रालिले सर्भेको काम पूरा गरिसकेको छ’ सर्भेयर मिश्रले भनेका छन् ‘अब सर्भेका क्रममा बनाइएका सवै तथ्याङ्क, कहाँ कहाँ कस्तो कस्तो हिसाबले खर्च हुन्छ, त्यसको इष्टमेट गरेर प्रालिले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई बुझाउने छ । त्यसको अध्ययन गरेर कोषले वन विभागलाई बुझाउने र प्रक्रियागत रुपमा टेण्डर आव्हान हुनेछ ।’
चारआली वन खण्डदेखि मागुरमाडी वन मूल खण्डसम्मको ६ दशमलव ३४ किलोमिटर र मागुरमाडी वन मूल खण्डको ५१ दशमलव ३६ किलोमिटरमा हुने तारबार निर्माणका लागि क्रमागत वजेट अनुसार वन मन्त्रालयबाट प्राप्त हुने ३ करोड रुपैयाँबाट राष्ट्रिय प्रकृति संरक्षण कोषले कामको थालनी गर्ने योजना रहेको छ ।
Comments