Sajhamanch Archive

सीप सिकाउँदै औजार दिँदै इटहरी उप–महानगरपालिका

Published: in समाज, स्थानीय तह by .

इटहरी । इटहरी उप-महानगरपालिकाले सिलाई कटाई सीप सिकेका महिलालाई सिलाई मेशिन प्रदान गरेको छ ।

उपमहानगरका उपप्रमुख लक्ष्मी गौतमले आज एक कार्यक्रमका बीच २० वटा सिलाई मेशिन हस्तान्तरण गरेकी हुन् । इटहरी उपमहानगर वडा नम्बर ५ को तर्फबाट १३ वटा र उपमेयर आत्मनिर्भर कार्यक्रमको तर्फबाट ७ वटा गरी २० वटा सिलाई मेशिन वितरण गरिएको हो ।

समृद्धि हेल्भेटास परियोजना अन्तरगत ६५ दिनसम्म संचालित टेलरिङ्ग तालिमको समापनका अवसरमा आज प्रशिक्षार्थीहरुलाई सिलाई मेसिन हस्तान्तरण गरिएको हो । तालिम मल्टिस्किल एण्ड इन्भारोमेन्ट प्रालिले इटहरी ५ मा सञ्चालन गरेको थियो । निर्मला मैनाली र सुमित्रा विश्वकर्माले प्रशिक्षार्थीहरुलाई सीप प्रदान गरेका थिए ।

महिलालाई सीप सिकाएर मेशिनसमेत प्रदान गरेपछि पक्कै गरिखाने बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको उपमहानगरका उपप्रमुख गौतमको भनाई छ । तालिममा सिकेको सीप प्रयोग गरेर ६ महिना भित्रमा स्वरोजगार बन्न उनको आग्रह छ ।

तालिम समापन कार्यक्रममा बोल्दै वडा नम्बर ५ का वडाध्यक्ष कल्याणबहादुर कार्कीले सीप सिकेका महिलाले सिलाएको लुगाको बजारीकरणमा वडाको तर्फबाट सहयोग गरिने आश्वासन दिए ।

यस्तै समृद्धि हेल्भेटास परियोजनाका टिम लिडर बालमुकुन्द न्यौपानेले हातमा सीप भएको मान्छे कहिल्यै भोको बस्नु नपर्नेमा जोड दिँदै परियोजनाले सीप सिकाउन गरेको लगानीलाई प्रशिक्षार्थीहरुले जीविकोपार्जनमा लगाउनेमा विश्वस्त रहेको बताए ।

सो कार्यक्रममा आयोजक मल्टिस्किल एण्ड इन्भारोमेन्ट प्रालिका विकास खनाल, वडा सदस्य टीका बस्नेत र प्रशिक्षार्थी सुभद्रा ढुंगेलले आ–आफ्ना धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *