Sajhamanch Archive

नेपाली कांग्रेस १४औं महाधिवेशनः दमकमा तीनवटा प्यानलबीच प्रतिष्पर्धा हुने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, स्थानीय तह, by .

दमक । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत गाउँ नगर समितिको नेतृत्व चयन गर्ने मिति नजिकिँदै गर्दा उम्मेदवारहरु आफूलाई ओजनदार बनाउन दौडधुपमा व्यस्त छन् । केन्द्रदेखि नै सुरु भएको गुट र प्यानलले दमकमा पनि घर गरेको कारण क्षेत्रीय प्रतिनिधिहरुलाई विश्वासमा लिएर नेतृत्वमा पुग्न दुईवटै प्यानललाई सकस छ ।

दमक नगर समितिको सभापति बन्न दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश प्रसाईले नेतृत्व गरेको एउटा प्यानल छ । जसले पार्टी सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु पर्ने निष्कर्षसहित देउवा इतरको मोर्चाबन्दी गरेर चुनावी मैदानमा उभिएको जनाएको छ ।

प्रकाशको प्यानलबाट उपसभापतिमा युवराज खनाल र मीनाकुमारी कोइराला, सचिवमा नवराज ढकाल र दिनेश अग्रवाल तथा सहसचिवमा नेत्रप्रसाद न्यौपाने (नवराज) र मनिकुमार लिम्बूले उम्मेदवारी तय गरेका छन् ।

अर्को प्यानलको नेतृत्व पर्शुराम रिजालले गरेका छन् । उनको प्यानलले नेपाली कांग्रेसलाई विधि, विधान र पद्धतिमा सञ्चालन गर्ने, दमक पार्टीको आय–ब्ययलाई पारदर्शी एवम् सरल बनाउने दावीसहित चुनावी मैदानमा छ ।

रिजाल प्यानलबाट प्रेम भट्टराई र संगम राईले उपसभिापतिमा उम्मेदवारी दिँदैछन् भने सचिवमा रामचन्द्र अधिकारी र चन्द्रकुमार गिरी तथा सहसचिवमा रमुना चापागाई र विजयकुमार राईले उम्मेदवारी दिने तय गरेको बताइएको छ । ‘परिवर्तन सम्भव छ, हामीलाई आत्म विश्वास छ, हामी सुधार्ने छौं, साथसाथै अघि बढ्नेछौं, अनुभवलाई सम्मान गर्दै, जोशलाई संवाहकमा रुपान्तरण गर्दै अगाडि जानेछौं’ सभापतिका उम्मेदवार रिजालको भनाई छ ।

दुईवटै समूहले प्यानल बनाएर पर्चा वितरण गरिरहेको, मतदाताको घरदैलोमा पुगिरहेको तथा सामाजिक सञ्जालको उपयोग गरेर प्रचार गरिरहेको पाइएको छ ।

अर्को प्यानल रोशन विष्ट नेतृत्वको छ । विष्ट सभापतिका उम्मेदवार छन् भने सो प्यानलबाट उपसभापतिमा ज्ञानकुमारी बुढाथोकी र जयबहादुर धिमालले उम्मेदवारी दिनेछन् । यस्तै सचिवमा दिपेश दाहाललाई अगाडि सारिएको छ भने सह सचिवद्वयमा अमित थापा र वीरेन्द्रकुमार आङ्देम्बे उम्मेदवार बन्ने भएका छन् ।

यसैबीच, प्रसाई समूहबाट सहसचिवको उम्मेदवार बनेका नेत्रप्रसाद न्यौपाने (नवराज)को पारिवारिक पृष्ठभूमि नै कांग्रेस भएकाले सानै उमेरदेखि राजनीतिमा चासो र सरोकार राख्ने गरेको बताउँछन् । नेपाल विद्यार्थी संघ झापाको जिल्ला सदस्य रहिसकेका न्यौपाने व्यवसायिकरुपमा टेलिभिजन कार्यक्रम सम्पादन गर्दछन् । राजनीति गर्ने हरेक मानिसले आर्थिक उपार्जनका लागि व्यवसाय गर्नैपर्छ भन्ने मान्यता राखेका न्यौपाने कृषि र सञ्चार क्षेत्रमा लगानी गरेर फरक पहिचान स्थापित गरेका छन् ।

चुनाव प्रचारमा रहेकै समयमा साझामञ्च प्रतिनिधिसँग छोटो कुरा गर्दै न्यौपानेले भने, ‘पार्टीमा युवा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने भएकाले पार्टीका हरेक कमिटीहरुमा युवाको सहभागिता सुनिश्चित गरिनुपर्छ ।’

सहसचिवका उम्मेदवार न्यौपाने

उनले भने, ‘दमकमा कांग्रेसको गिर्दाे साखलाई उँचो बनाउन सक्षम र योग्य नेतृत्व आउनु आवश्यक छ, यसका लागि आफूहरु प्रसाई नेतृत्वको टिमबाट चुनावी मैदानमा होमिएका छौं ।’ नगरमा कांग्रेसले प्रसाईको नेतृत्व पाउनु अनिवार्य छ, कम्युनिष्टहरुसँग प्रतिस्पर्धा गर्नका लागि उनको नेतृत्व सक्षम भएकाले पनि कांग्रेस र शुभचिन्तकहरुले उनको नेतृत्वलाई जिताउनु आवश्यक रहेको न्यौपानेको बुझाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *