Sajhamanch Archive

साफ च्याम्पियनसिप : आज राति नेपाल र माल्दिभ्स भिड्दै

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार by .

काठमाडौँ । कतारमा तयारी गरेर ओमान विरुद्ध अभ्यास खेल खेलेपछि माले पुगेको नेपाली राष्ट्रिय टोलीले आयोजक माल्दिभ्स विरुद्ध प्रतिस्पर्धा गर्दै शुक्रबार साफ च्याम्पियनसिप २०२१ सुरु गर्दैछ ।

पहिलोपल्ट साफ च्याम्पियन बन्ने अभियानमा रहेको नेपाली टिमले दक्षिण एसियाली फुटबलकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको तयारीमा दशरथ रंगशालामा भारत विरुद्ध दुई मैत्रीपूर्ण खेल पनि खेलेको थियो ।

यस आधारमा कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको टिम राम्रो तयारीसाथ माले पुगेको भन्न मिल्छ । अल्मुताइरीको मुख्य लक्ष्य पनि साफको उपाधि नै हो, जहाँ नेपाली टिम हालसम्म सेमिफाइनलभन्दा माथि उक्लिएको छ ।

डिफेन्डिङ च्याम्पियन पनि हो माल्दिभ्स । ढाकामा भएको साफ २०१८ को उपाधि यात्रामा माल्दिभ्सले नेपाललाई सेमिफाइनलमा ३–० ले हराएको थियो । टोलीले फाइनलमा भारतलाई २–१ ले पन्छाउँदै दोस्रोपल्ट साफको ट्रफी कब्जा गरेको थियो । यस प्रतियोगितामा नेपालले हालसम्म माल्दिभ्सलाई हराएको छैन ।

मालेमा बिहीबार आयोजित प्रि–म्याच प्रेस कन्फ्रेन्समा नेपाली कप्तान किरण चेम्जोङले भने, ‘माल्दिभ्सलाई घरेलु मैदान र समर्थकको फाइदा छ । हामी सबै समर्थकलाई सम्मान गर्छौं तर ती अवसरले हामीलाई केही गर्ने छैन । हामी यहाँ नतिजा हात पार्न मैदानमा प्रतिस्पर्धा गर्न आएका हौं ।’

नेपाल र माल्दिभ्सको राति ९ः४५ बजे प्रतिस्पर्धा हुनेछ । सोभन्दा अघि उद्घाटन खेलमा श्रीलंका र बंगलादेश भिड्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *