हाम्रो नेपाल साकोसः २९ पदका लागि २१८४ जनाको आवेदन, १० प्रतिशतमात्रै स्किलफुल
Published: (Updated: )
by .बिर्तामोड । झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले विभिन्न पदमा २९ जनाका लागि आव्हान गरेको कर्मचारी आवश्यकता सम्बन्धी सूचना हेरेर २ हजार १८४ जनाले आवेदन गरेका छन् ।
हाम्रो नेपालले कनिष्ठ सहायक पदमा २३ जना र सहायक, आईटी र सञ्चालन प्रमुख पदमा २–२ जना गरी २९ जनाको लागि विज्ञापन गरेको थियो । कोरोना भाइरस संक्रमणको त्रास कायमै रहेकाले भौतिक उपस्थिति हुन नसक्नेहरुलाई अनलाइन मार्फत् आवदेन गर्नसमेत अवसर दिइएको संस्थाले जनाएको छ ।
संस्थाले आवेदकहरुलाई बिर्तामोडमा बोलाएर पालो मिलाई असोज १० गतेदेखि कम्प्युटर प्रयोगात्मक अभ्यास (स्किल टेस्ट) गराएको थियो । कम्प्युटरको माध्यमबाट कारोबार विबरण राख्नुपर्ने, पत्राचार गर्नुपर्ने, तालिमहरु चलाउनु पर्ने भएकाले सो का लागि सामग्री तयारी गर्न लगाएर स्किल टेष्ट गरिएको संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक कृष्णराज कट्वालले जानकारी दिए ।
आवेदकमध्ये दुई हजार जना स्किल टेष्टमा उपस्थित भएकोमा तीमध्ये २१८ जनाले लिखित परीक्षा दिएको संस्थाका अध्यक्ष भानु दंगालले बताएका छन् । असोज १६ गते बिर्तामोडको मनकामना कलेजमा व्यवस्थित रुपमा लिखित परीक्षा सञ्चालन गरिएको अध्यक्ष दंगालले जनाएका छन् ।
स्किल टेष्टबाट छानिएका २१८ जना आवेदकहरु लिखित परीक्षामा सहभागी भएका थिए । सो लिखित परीक्षाको रिजल्ट यथाशीघ्र प्रकाशन गरिने र अन्तरवार्ता मार्फत् सेवा प्रवेशको ढोका खोल्ने तयारी भएको जनाइएको छ ।
संस्थाले अन्तिममा छानिएका २९ लाई तत्कालै सम्बन्धित पदमा नियुक्त गर्ने छ भने त्यतिनै संख्यामा वैकल्पिकको सूची निकाल्ने र उनीहरुलाई पनि वर्षदिन भित्रमा कहीँ न कहीँ अवसर प्रदान गर्ने नीति बनाएको जनाइएको छ ।
कोरोना भाइरस संक्रमणको त्रासले अर्थतन्त्र डामाडोल भएको परिवेशमा सहकारी व्यवसायप्रति विशेषगरी रोजगारीका लागि युवा आकर्षण तीब्र गतिमा बढिरहेको पाइन्छ ।
Comments