कर्णाली साकोसले इलामको हर्कटेमा खोल्यो सदस्य सेवा केन्द्र
Published:
by .इलाम । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले असोज १७ गतेदेखि इलामको हर्कटेमा सेवा केन्द्र विस्तार गरेको छ ।
झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली साकोसले इलाम र मोरङ जिल्लालाई पनि कार्यक्षेत्र स्वीकृत गराएपछि पछिल्लो समय सेवा केन्द्र खोल्ने क्रम बढेको हो ।
रोङ गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला राईको प्रमुख आतिथ्यमा कार्यक्रमको ब्यानर बाचन गरेर तथा रिबन काटेर सेवा केन्द्रको उद्घाटन गरिएको थियो । सो सेवा केन्द्रमा पहिलो सदस्य बन्ने शेयर धनीलाई उद्घाटनका अवसरमा सेयर प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यालय उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका उपाध्यक्ष राईले कर्णाली साकोसका सदस्यहरुले प्राप्त गर्ने सेवा तथा सुविधाहरु अरुभन्दा पृथक रहेको बताइन् ।
साकोसले बचत तथा ऋणको मात्र कारोबार नगरेर उद्यमशील व्यवसायीलाई कर्जा दिएर तथा सीप सिकाएर आत्मनिर्भर बनाएकोमा उनले संस्थाको प्रशंशा पनि गरिन् । संस्थाका सदस्यले पाउने अभिभावकत्व तथा स्वास्थ्य उपचार कोषको सदस्य बनेर पाउने सुविधाहरु हेरेर आफू पनि सदस्य बन्न इच्छुक रहेको गाउँपालिकाका उपाध्यक्ष राईले बताइन् ।
सेवा केन्द्र उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले कर्णाली साकोसले सञ्चालन गरिरहेको गतिविधि, वित्तीय झलक, संस्थाको नीति तथा कार्यक्रम र सामाजिक सुरक्षा योजनाका बारेमा मन्तब्य राखेका थिए ।
संस्थाका विभागीय प्रमुख मनहरि निरौलाले सञ्चालन गरेको सेवा केन्द्र उद्घाटन कार्यक्रममा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई संस्थाका उपाध्यक्ष ईश्वरीप्रसाद खरेलले शाब्दिक स्वागत गरेका थिए ।
संस्थाले रोङ गाउँपालिकाको हर्कटेमा नयाँ सेवा केन्द्र विस्तार गरेर साकोसका सुविधाहरु सदस्यहरुमाझ प्रवाह गर्न लागेको हो । हर्कटे सेवा केन्द्र इलाम जिल्लालाई कार्यक्षेत्र स्वीकृत गरेपछिको पहिलो सेवा केन्द्र हो भने संस्थाको ३२औं सेवा केन्द्र भएको सञ्चालक समितिका सदस्य गणेशप्रसाद पराजुलीले जनाएका छन् ।
Comments