Sajhamanch Archive

बिर्तामोडमा साहित्य, कला, संस्कृति प्रतिष्ठानको स्थापना

Published: in गीत/संगीत/मनोरञ्जन, समाज, साहित्य by .

बिर्तामोड । साहित्य, कला, संस्कृति प्रतिष्ठान बिर्तामोड स्थापना गरी आजदेखि औपचारिक क्रियाकलाप गर्न थालिएको छ ।
साहित्यकार, गीतकार एवम् कलाकार भगवती ढुङ्गेलको अध्यक्षतामा स्थापना भएको प्रतिष्ठानले आज चाडपर्व विशेष शुभकामना आदान प्रदान तथा कृति विमोचन कार्यक्रम गरेर अस्तित्व देखाएको हो ।

सो प्रतिष्ठानको उपाध्यक्षमा इन्द्रप्रसाद कटुवाल, सचिवमा पवन शिवाकोटी, सहसचिवमा रेवता भट्टराई, कोषाध्यक्षमा सीता कुँवर तथा सदस्यहरुमा लोकबहादुर सुवेदी र मुना प्रसाईं रहेका छन् । साहित्य, कला र संस्कृतिमा रुची राख्ने व्यक्तिहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने फोरमका रुपमा प्रतिष्ठानको स्थापना गरिएको अध्यक्ष ढुङ्गेलले बताइन् ।

बिर्तामोडमा आज बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, समीक्षक तथा कवि डा. ठाकुरप्रसाद पोखरेल, साहित्यकारहरु शिवकुमार पौडेल, पुण्यप्रसाद खरेल, गोपाल संग्रौला, कुमार भट्टराई, एनवी दाहाल, हस्त परियार, हरि रिमाल, विनोद खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा साहित्यकार तथा प्राध्यापक देवी संग्रौला, तुलसीप्रसाद भट्टराई, टीका चापागाईं, अच्युत दाहाललगायतले रचना वाचन गरेका थिए भने गायक तथा कलाकार मात्रिकाप्रसाद संग्रौलाले गीत गाएका थिए । सोही कार्यक्रममा कवि विजय संग्रौलाद्वारा लिखित ‘अन्तिम विदाई’ नामक कविता संग्रहको विमोचन गरिएको छ । उक्त कृतिको समीक्षा साहित्यकार तथा प्राध्यापक देवी संग्रौलाले गरेका थिए ।

कार्यक्रममा लेखक संग्रौलाले अन्तिम विदाई आफ्नो पहिलो कृति भएको बताएका छन् । सोही अवसरमा लेखक संग्रौलालाई उदीयमान लेखकको रुपमा सम्मान गरिएको थियो । प्रतिष्ठानका उपाध्यक्ष इन्द्रप्रसाद कटुवालले स्वागत गरेको कार्यक्रमको सञ्चालन पत्रकार तुलसीप्रसाद निरौलाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *