Sajhamanch Archive

शरणामतिका किसानको मागः ‘यो वर्ष शिक्षण संस्थाबाट ठेक्का छुट पाउँ’

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

शरणामती । विभिन्न विद्यालयको जमिन जोतभोग गरी ठेक्का तिर्दै आएका झापा गाउँपालिका ६ शरणामतीका किसानले यो वर्ष ठेक्का मिनाहाका लागि आग्रह गरेका छन् ।

बेमौसमी बर्षातका कारण पाकेर भित्राउन तयारी अवस्थामा रहेको धान नोक्सान भएकाले हरेक वर्ष विद्यालयलाई बुझाउँदै आएको ठेक्का मिनाहा गर्न माग गर्ने बताइएको छ । सो उद्देश्यले किसानले सात सदस्यीय समिति गठन गरेका छ्न् ।

स्थानीय कृषक मनप्रसाद मिश्रको संयोजकत्वमा गठित समितिमा दुर्गाबहादुर पौडेल, सीता पौडेल, मनोज ताम्ली, रेवती शिवाकोटी, तेजप्रसाद भट्टराई र भुवन बुढाथोकी सदस्य रहेका छन् ।

हावाहुरीसहित आएको बेमौसमी वर्षाले धानबालीमा क्षति पुगेपछि हरेक वर्ष प्रति बिगाहा आठ मन धान ठेक्कास्वरूप बुझाउँदै आएका किसानले विद्यालयलाई यो वर्ष ठेक्का मिनाहा गर्न अनुरोध गर्ने संयोजक मनप्रसाद मिश्रले बताएका छन् ।

यहाँका किसानले विगत वर्षौंदेखि ताप्लेजुङ आठराइको पोखरी मावि, झापा घैलाडुब्बाको आदर्श मावि, मेची बहुमुखी क्याम्पस भद्रपुर, जनता मावि र भानु प्राविका करिव ३२५ बिगाहा जमिनमा जोतभोग गर्दै आइरहेका छन्। साथै समितिले धानबालीमा भएको क्षतिको लागत संकलन गरेर सरकारसँग क्षतिपूर्तीको माग गर्नेसमेत निर्णय गरेको छ।

झापा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष हरिबहादुर बानियाँले बेमौसमी वर्षाले वडाका सम्पूर्ण किसानहरूको वर्षभरिको कमाईमा बज्रपात परेको भन्दै सरकारले दिने क्षतिपूर्तीका लागी सक्दो पहल गर्ने बताए। उनले विद्यालयहरुले समेत ठेक्का मिनाहा गरेर किसानलाई राहत दिनुपर्नेमा जोड दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *