बाढीले बगायो धेरै दोमुखाबासीको सपना
Published:
by .दोमुखा (शिवसताक्षी) । कात्तिक लाग्ने बित्तिकै भएको अबिरल बर्षाको कारण भित्राउन लागेको धान हिलोपानीले पुरेर तथा तरकारीको बेर्ना नष्ट गरिदिए पछि यहाँका किसानहरु चिन्तित बनेका छन् ।
स्थानीय तिलक राईका अनुसार धेरै किसानको धानबाली हिलोपानीले पुरेको छ भने कतिपय किसानको धान बालीसँगै खेत पनि बाढीले बगाएको छ । आफ्नो एक विगाहा खेतमा लगाएको धान वर्षातले सखाप पारेकाले घरमा भित्राउन नपाएको दुखेसो गर्दै राईले भने, ‘पाँच कठ्ठा जति जमिनमा रोपेर भर्खरै हुर्कंदै गरेको लिच्ची र सुपारीको बोटसमेत पानीले डुबाएर मर्यो ।’
बेमौषमी बर्षा र बाढीका कारण माईखोला आसपासमा धान खेती लगाइएको झण्डै ५ विगाहा जमिन बाढीले बगाएको राईले जानकारी दिए । उनका अनुसार कृषक रामचन्द्र सिटौलाको मात्रै १० कठ्ठा जमिन बाढीले बगाएको छ ।
सिटौला परिवारको दुखेसो सुनाउँदै राईले भने, जमिनको नाममा उहाँहरुको त्यतिमात्र थियो । तिहार लगत्तै पाकेर भित्राउने तयारी गरेको धानबाली नै बाढीले बगाइदिए पछि उनीहरु निकै चिन्तित बनेका छन् ।
यो वर्ष धान रोप्ने समयमा पनि रसायनिक मल नपाएका कारण किसानहरु मर्कामा थिए । जसोतसो फलेर पाक्ने बेला भएको धान हिलोपानीले पुरिदिए पछि काटेर पखाल्दै सुकाइरहेको पीडादायी दृश्य यतिबेला दोमुखामा देखिन्छ ।
बाढीले बगाएर बचेको धान खेतमा हिलोले पुरिएको भए पनि उत्पादन भित्राउन सकिन्छ कि भन्ने आशामा उनीहरुले हिलो पखालेर घाममा सुकाउँदै गरेका हुन् ।
हिलोले पुरिएको धान काट्दै पखाल्दै गरेकी एक महिला नाम उल्लेख नगर्ने शर्तमा भन्छिन्, ‘गरिबका लागि भगवान छैनन् भन्ने कुरा यो पटक छर्लङ्ग देखियो । यी हेर्नुस् त ५–६ वटा फोक्टा बिराएर धान रोपेका थियौं, दैवले पनि देखिसहेन, कि त हिलोले पुर्यो कि त खेतै बगाईदियो । ’
धानबालीमा मात्र होइन, बेमौसमी बर्षाको कारण धेरैजनाको तरकारी बाली पनि नष्ट भएको छ । ब्याडमा तयार पारिएको काउली, गोलभेँडा, खुर्सानी र रायो सागको बेर्ना पानीले सखाप बनाई दिएको छ । अरुबेला प्रसस्त उत्पादन हुने रायोको सागसमेत यो पटक कृषकले बेर्ना नै बचाउन नसकेकोले सब्जीको भाउ आकाशिने उपभोक्ताको भनाई छ ।
Comments