Sajhamanch Archive

बागमती प्रदेशको मुख्यमन्त्रीमा पाण्डे निश्चित, आजै सपथग्रहण

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

हेटौंडा । नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा आज शपथ ग्रहण गर्ने भएका छन् ।

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएसँगै प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका थिए ।

प्रदेश प्रमुखको आह्वानसँगै गठबन्धनमा रहेका माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा (एस)का गरी ५९ सांसद हस्ताक्षरसहित पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखलाई आग्रह गर्दै पत्र बुझाइसकेका छन् ।

सत्तारुढ एमालेले भने सरकार गठनका लागि दाबी नगर्ने भएको छ । जसका कारण पाण्डेको सत्तारोहण सहज हुने देखिएको छ ।

पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी गरेका हुन् । गठबन्धनले बहुमत सांसदको हस्ताक्षर बुझाए पनि बिहीबार दिउँसो ३ बजेसम्म दाबी पेश गर्न समय दिइएको छ ।

‘नयाँ सरकार बनाउन प्रदेश प्रमुख समक्ष हामीले बहुमत सदस्यको हस्ताक्षर बुझाइसकेका छौं । आजै दिउँसो ५ बजेभित्र नयाँ सरकारले शपथ ग्रहण गर्ने तयारी छ’ कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले भने । उनका अनुसार गठबन्धन दलहरुले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने गरी तयारी गरेको छ ।

गठबन्धनबाट पहिलो चरणमा मुख्यमन्त्री पाण्डेसहित माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भडेल र नेकपा (एस)का उपनेता कृष्ण खनालले सपथ लिने बुझिएको छ । स्रोतका अनुसार माओवादीले आर्थिक मामिला, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा (एस)ले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नेछन् ।

वाग्मती प्रदेशमा सत्तारुढ नेकपा (एमाले) विभाजन भएर १३ सांसदले नवगठित नेकपा (एस) रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी थिइन् । ५६ सांसदसहित एकल बहुमतबाट मुख्यमन्त्री शाक्य भदौ २ गते नेपालकै पहिलो मुख्यमन्त्री बनेकी थिइन् । उनी मुख्यमन्त्री बनेको ७१औं दिनमै सत्ताबाट बहिर्गमन भएकी हुन् ।

अल्पमतमा परिसकेको अवस्थामा मतविभाजन अगाडि मुख्यमन्त्री शाक्यले पदबाट राजीनामा दिएकी थिइन् । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गरेकी थिइन् ।

कान्तिपुर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *