Sajhamanch Archive

सडक कालोपत्रे गर्दा दमक ९ मा वडाध्यक्षले नै लागत सहभागिता नतिरेपछि उपभोक्ता समिति संकटमा !

Published: in मुख्य समाचार, समाज, स्थानीय तह by .

दमक । दमक नगरपालिका र उपभोक्ताको लागत सहभागितामा कालोपत्रे गरिएको दमक वडा नम्बर ९ को सडक निर्माणमा वडाध्यक्षले नै दायित्व रकम नतिर्दा आम उपभोक्ताबाट रकम उठाउन समस्या भएको छ । दमक ९ मा पर्ने चियादोकान चोक दक्षिणतर्फको पूर्वेली टोलको सडक कालोपत्रे भइसकेको दुई वर्ष नाघिसक्दा पनि उपभोक्ताबाट उठ्नुपर्ने रकम नउठेको हो ।

उपभोक्ताको समेत लागतमा निर्माण सम्पन्न गरिएको सडक कालोपत्रे गर्दा लागेको रकम अधिकांश उपभोक्ताबाट नठ्दा समस्या भएको निर्माण उपभोक्ता समितिले जनाएको छ । उक्त सडकले सोही वडाका वडाध्यक्ष रामबहादुर धिमालको जमिनसमेत छोएको छ । सडक कालोपत्रे गर्दा वडाध्यक्ष धिमालले पनि एक लाख १७ हजार ७०० रुपैयाँ लागत सहभागिता जनाउनु पर्नेछ । तर निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दासमेत उनले रकम नदिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष उमानाथ न्यौपानेले जानकारी दिएका छन् ।

वडाध्यक्ष समक्ष पटकपटक रकम माग गरिए पनि उनले विभिन्न बहाना बनाएर हालसम्म नदिएको निर्माण समितिका अध्यक्ष न्यौपानेले बताएका छन् । वडाध्यक्षले नै रकम नदिएका कारण अन्य धेरै उपभोक्ताले पनि रकम नतिरेको अध्यक्ष न्यौपानेले गुनासो गरेका छन् ।

सडक निर्माणको कूल लागत एक करोड ४५ लाख एक हजार १९० रुपैयाँमध्ये उपभोक्ताबाट ४३ लाख ५० हजार ३५७ रुपैयाँ उठाउनु पर्ने थियो । तर हालसम्म १३ लाख रुपैयाँ मात्रै उठेको उपभोक्ता समिति अध्यक्ष न्यौपानेले जानकारी दिए । वडाध्यक्षले नै रकम नतिरेकाले अरु उपभोक्ताबाट उठाउन समस्या भएकी भनी नगरप्रमुख, उपप्रमुख लगायतलाई कुरा राखेपनि त्यहाँबाट समेत सुनुवाई नभएको उनको गुनासो छ ।

सडक निर्माण गर्दा रकम नतिर्ने कतिपयको घर र जग्गासमेत बिक्री भइसकेकोले नयाँ घरधनीहरुले आफूहरुलाई थाहा नभएको बताउन थालेको अध्यक्ष न्यौपानेले गुनासो गरेका छन् । वडाध्यक्ष आप्mनै कार्यकर्ता भएकोले नगरपालिकाको नेतृत्वबाट रकम असुलीमा सहयोग नभएको उपभोक्ताको आरोप छ । पहुँच हुने र ठूला मान्छेले जे गरे पनि हुने रहेछ नि भन्दै रकम दिने उपभोक्ताहरुले पनि रकम फिर्ता माग्न थालेको उपभोक्ता समितिका सचिव प्रदिप विष्टले जनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *