एमालेको नगर नेतृत्व छान्न अर्जुनधारामा मतदान हुँदै !
Published: (Updated: )
by .अर्जुनधारा । नेकपा एमाले अर्जुनधारा नगर कमिटीको नेतृत्वमा निर्वाचन हुने भएको छ । कमिटीको अध्यक्ष पदमा दुई जनाले उम्मेदवारी अडान नछाडेपछि निर्वाचन हुने पक्का भएको हो ।
यस्तै, दुई उपाध्यक्ष र दुई सहसचिव पदमा पनि निर्वाचन हुने भएको छ । सहमतिको अन्तिम प्रयास गरिँदा पनि सफलता नमिलेपछि निर्वाचन प्रक्रियामा जाने छाँटकाँट देखिएको छ ।
यसअघि नगर अध्यक्ष पदमा तीन जनाले उम्मेद्वारी दिएका थिए । पार्टीका वर्तमान अध्यक्ष प्रेमसागर सापकोटा, अर्जुनधारा १० का वडाध्यक्ष बलदेवसिंह गोम्देन र ६ नम्बर वडाध्यक्ष लोकनाथ गौतमले अध्यक्ष पदमा उम्मेद्वारी दिएका थिए ।
सहमतिका लागि लामो समय छलफल गर्दा पनि गोम्देन र गौतमले अध्यक्ष पदको अडान नछाडेपछि निर्वाचन हुने निश्चित बनेको छ । सापकोटाले भने सहमतिका लागि भन्दै उम्मेदवारीबाट नाम फिर्ता लिएका छन् ।
यस्तै, उपाध्यक्ष पदमा ६ जनाको उम्मेद्वारी परेको थियो । सहमतिका प्रयास भइरहे पनि अन्तिम समयसम्म आकांक्षी खगेन्द्र इङ्नाम र लोकमान श्रेष्ठले उपाध्यक्षमा दावी प्रस्तुत गरिरहँदा निर्वाचन हुने भएको हो ।
त्यस्तै, सचिव पदमा तीन जनाले दाबेदारी प्रस्तुत गरेका थिए । तर, सहमतिको प्रयासबाट लवकुश गौतम सर्वसम्मत भएका छन् ।
यसैगरी, दुई उपसचिव रहने विधानबमोजिम जनकलाल चम्लागाई निर्विरोध चयन भएका छन् । विधानमा पदाधिकारीमा एक जना महिला अनिवार्य रहनुपर्ने प्रावधान भएकाले यस पदमा निर्वाचन हुने देखिएको छ । उपसचिवको एक पद निर्विरोध भए पनि एक महिला उपसचिवमा कमलादेवी भण्डारी र सरिता भण्डारीले मनोनयन दर्ता गराएपछि यसको छिनोफानो निर्वाचनबाट हुने पक्का भएको छ ।
मंगलबार उद्घाटन भएको प्रथम नगर अधिवेशनमा बुधबार मनोनयन दर्ता गरिएको थियो । यसअघि ६१ जना सदस्य निर्वाचित भइसकेका छन् । अर्जुनधाराको नगर अधिवेशनमा २२९ जना नगर अधिवेशन प्रतिनिधि रहेका छन् ।
अझै पनि सर्वसम्मतिमै नगर कमिटी चयन गर्नेगरी प्रयास जारी रहेको निर्वाचन समितिले जनाएको छ । तर, उम्मेदवारहरुले मत माग्न थालिसकेकाले भोलि (शुक्रबार) बिहान ८ बजेपछि निर्वाचन हुने बताइएको छ ।
Comments