Sajhamanch Archive

स्थानीय तहका कर्मचारीलाई सहकारी लेखापालन तालिम

Published: in मुख्य समाचार, सहकारी by .

लेटाङ (मोरङ) । प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय प्रदेश १ इटहरीको आयोजनामा २५ वटा पालिकाका कर्मचारीहरुलाई यहाँ ६ दिने लेखापालन सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

गत कात्तिक १० देखि सुरु भएको सहकारी लेखापालन सम्बन्धी तालिममा स्थानीय तहमा सहकारी शाखामा कार्यरत कर्मचारीहरु सहभागी छन् । कृषि विकास बैंक पूर्वाञ्चल क्षेत्रीय तालिम केन्द्र लेटाङमा सञ्चालित आवासीय तालिममा सुनसरी, मोरङ र झापाका २५ वटा पालिकाका २६ जनाको सहभागिता रहेको तालिम संयोजक मनोज कार्कीले जानकारी दिए । तालिममा १६ पुरुष र १० महिलाको सहभागिता छ ।

सहकारी ऐन २०७४ कार्यान्वयनमा आएपछि सहकारी संघ–संस्थाको दर्ता, खारेजी, अनुगमन तथा नियमन र प्रवर्धनका लागि तीन तहका सरकारले कामको विभाजन गरेका छन् । तीमध्ये ८० प्रतिशत प्रारम्भिक सहकारी संस्थाहरु स्थानीय तहको जिम्मामा रहेका छन् ।

प्रदेश सहकारी रजिष्ट्रार बलराम निरौलाले स्थानीय तहको सहकारी शाखामा कार्यरत कर्मचारीहरुलाई सहकारी संस्थाको अनुगमन तथा नियमनका लागि सवलीकरण गर्न तालिम आयोजना गरिएको जानकारी दिए । पहिलो चरणमा २५ वटा पालिकाको सहभागितामा तालिम सञ्चालन गरिएको जनाउँदै रजिष्ट्रार निरौलाले यसको प्रतिफल हेरेर अन्य तालिमबारे निर्णय लिइने पनि बताएका छन् ।

तालिमको सहजीकरण प्रदेश सहकारी रजिष्ट्रार बलराम निरौला र सहकारी मन्त्रालयको सहकारी शाखा प्रमुख तोयानाथ तिम्सिनासहित सहकारी विज्ञहरुले गरिरहेका छन् । उक्त ६ दिने तालिम कात्तिक १५ गते आइतबार समापन हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *