मिथिलाञ्चलमा सामा–चकेवा पर्व मनाइँदै
Published:
by .जनकपुरधाम । मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमको प्रतीक मानिएको सामा–चकेवा पर्व कात्तिक २३ गतेदेखि सुरु भएको छ ।
यो पर्व पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्नेछ भने ११औँ दिन पूर्णिमाको रात सामा–चकेवालाई विसर्जन गरी पर्व समापन गरिन्छ ।
१० दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा–चकेवा खेल्नेछन् । पञ्चमीको दिन बिहानैदेखि मिथिलाञ्चलकी दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर दाजुभाइका हातबाट खनेर ल्याएकोे माटोलाई गिलो पारी विभिन्न प्रकारका कलात्मक सामा–चकेवा बनाउन थालेका छन् ।
सामा–चकेवा बेलुका सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङले रंगीचंगी बनाइन्छ । रंगिसकेको सामा–चकेवालाई राति रातो रङको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चोक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कुल, धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर १० दिनसम्म गीतसहितको नृत्य गर्दै चेलिबेटीले सामा–चकेवा खेल्ने गर्दछन् ।
Comments