एनएमसी फुटसलको उपाधि संयुक्त व्यवसाय टिमलाई
Published:
by .धुलाबारी । अत्यन्तै रोमाञ्चक खेलको ट्राइब्रेकरमा कर्पाेरेट कार्यालयलाई एक–शून्यले पाखा लगाउँदै संयुक्त व्यवसायको टोलीले एनएमसी महिला फुटसलको उपाधि जितेको छ ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गत खेलकुद उपसमितिको आयोजनामा शनिबार धुलाबारी फुटसल एरेनामा सम्पन्न प्रतियोगितामा संस्था अन्तर्गतका ७ वटा कर्मचारी टोलीको सहभागिता रहेको थियो ।
संस्था अन्तर्गतका ५ वटा क्षेत्रीय टोली, प्रधान कार्यालय र कर्पाेरेट कार्यालयको संयुक्त टोली र संस्था अन्तर्गतका वित्तीय व्यवसाय बाहेकका डेरी, कृषि फर्म, सहकारी पसल र चिया व्यवसायको संयुक्त टोली बिच प्रतिष्पर्धा भएको थियो ।
पहिलो सेमीफाइनलमा भद्रपुर–केचना क्षेत्रलाई पाखा लगाउँदै फाइनल प्रवेश गरेको कर्पाेरेट र प्रधान कार्यालयको संयुक्त टोलीलाई दोस्रो सेमीफाइनलमा बिर्ता–अर्जुनलाई जितेको संयुक्त व्यवसायले हराउन ट्राइब्रेकरसम्म कुर्नु पर्यो । फाइनल खेलमा तोकिएको अवधिभर कुनै टोलीबाट गोल नभएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।
संस्थाले आफ्ना महिला कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि यस प्रकारका खेलकुद गतिविधि सञ्चालन गर्दै आएको छ । एनएमसी खेलकुद उपसमिति सदस्य मुना बिष्टले खेलप्रतिको रुची र पुनर्ताजगीका लागि आयोजना गरिने यस प्रकारका गतिविधिले महिला कर्मचारीलाई अझ हौसला प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी संयुक्त व्यवसाय टोलीका रञ्जिता कट्टेल घोषित भइन् । प्रतियोगितामा विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती लगायतले पुरस्कार प्रदान गरेका थिए ।
उद्घाटन तथा सम्मान कार्यक्रम एनएमसी खेलकुद उपसमिति संयोजक हरिप्रसाद तिम्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रममा मेचीनगर नगरपालिका वडा नं. १० का वडाध्यक्ष सुदयकुमार पनेरुको प्रमुख आतिथ्यता रहेको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पनेरुले एनएमसीले वित्तीय बाहेक अन्य धेरै व्यवसाय सञ्चालनका साथै यस प्रकारका सामाजिक गतिविधि सञ्चालन गर्ने भएर नै सहकारीका बीच आफूलाई अब्बल स्थानमा पुर्याउन सफल रहेको बताए ।
उपसमिति सदस्य मुना बिष्टको शाब्दिक स्वागत रहेको कार्यक्रमको सञ्चालन संस्था अन्तर्गत सामुदायिक विभाग प्रमुख हिरन कट्टेलले गरेकी थिइन् ।
Comments