असहाय ज्येष्ठ नागरिकको संरक्षण गर्दै परोपकार तथा अनुसन्धान केन्द्र बिर्तामोड
Published:
by .बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ४ मा अवस्थित परोपकार तथा अनुसन्धान केन्द्र वृद्धाश्रमले असहाय तथा बेसहारा ज्येष्ठ नागरिकको हेरचाह र संरक्षणमा अतुलनीय योगदान गर्दै आएको पाइएको छ ।
वि. सं. २०६६ मा स्थापना भई सञ्चालनमा रहेको केन्द्रले हाल ३० जनाभन्दा धेरै असहाय ज्येष्ठ नागरिकको संरक्षण गर्दै आएको केन्द्रका कार्यालय सचिव बेनुप्रसाद भट्टटराईले जानकारी दिएका छन् । वि सं. २०६६ मा गुरुप्रसाद ओझाले एक कठ्ठा जग्गा निशुल्क प्रदान गरेपछि यसको परिकल्पना भएको हो । सो पछि समिति गठन गरेर विभिन्न शुभेच्छुकहरु समेतको सहयोगमा भवन निर्माण गरी संस्थाले मूर्तरुप लिएको अध्यक्ष विक्रम मादेन बताउँछन् ।
तत्कालिन समयमा ५ जना वृद्धवृद्धालाई संरक्षण दिदैँ सुरु भएको वृद्धाश्रममा हाल ३० जनाभन्दा धेरैले आश्रय लिइरहेका कार्यालय सचिव भट्टराईले बताए । सो वृद्धाश्रममा कहीँकतै घर नभएका, परिवारले छाडेका, हराएका वा विभिन्न कारणले विछोडिएका वृद्धवृद्धा बस्दै आएका छन् ।
उनीहरुको हेरचाहमा ४ जना कर्मचारी दैनिक खटिरहेका छन् । वृद्धवृद्धाको स्याहार सुसार, खाना पकाउने, खुवाउने र सरसफाई गर्ने लगायतका काममा कुनै कमी आउन नदिएको भट्टराईको भनाई छ । स्वास्थ्य, सुरक्षा, खाद्यान्न तथा लत्ता कपडाको व्यवस्थापन पनि प्रभावकारी ढंगले अघि बढाइएको उनको दाबी छ ।
केन्द्रको संरक्षणमा रहेका ज्येष्ठ नागरिक पनि खुसी नै भेटिन्छन् । हालसालै आश्रय लिन आइपुगेकी फूलमाया पौडेल भन्छिन, “म यहाँ आएको १० दिनमात्र भयो । मेरा श्रीमान छोराछोरी कोही नभएकाले मैले यहाँ आउनु परेको हो । आएको केही दिनमात्रै भए पनि मलाई यहाँका सबै मानिस एउटै परिवारका सदस्यजस्तै लाग्न थालेको छ ।’’
फूलमाय त एउटा पात्रमात्र हुन्, यहाँ अलग अलग ठाउँबाट आएर आश्रितहरु सबैमा समान व्यवहार हुन्छ । ‘‘खाना पकाएर दिने, सरसफाई गरिदिने भएकाले हामीले केही काम गर्नु पर्दैन । नौँ महिना कोखमा राखी दु.ख कष्ट गरेर हुर्काएका छोरा छोरीलाई धेर भएका हामी जस्तालाई राख्ने ठाउँ पनि हुँदोरहेछ” फूलमायाले थपिन् ।
फुलमाया जस्तै कोही परिवारबाट अपहेलित भएर आएका छन भने कसैका छोरा बुहारीले झुक्याएर भएको सम्पति, जग्गा जमिन आफ्नो नाममा पारेर आश्रममा ल्याएर छाडेका छन् ।
परोपकार तथा अनुसन्धान केन्द्रमा हरेक चाडपर्वहरु हर्षोल्लासका साथ मनाउने गरिन्छ । यहाँ व्यायाम गराउने, भजन कीर्तन गर्ने, मनोरञ्जनका लागि विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने गरिएको आश्रितहरु बताउँछन् । रेडियो सुन्न, टेलिभिजन हेर्न र अरु मनोरञ्जन गर्ने ब्यवस्था मिलाइएको छ ।
‘समाजका सहयोगी मन र भावना भएका व्यक्तिहरुले यहाँ आएर आफ्नो जन्म दिन मनाउने गरेका छन् भने अन्य विशेष दिनमा आएर कार्यक्रम गरी ज्येष्ठ नागरिकलाई खुसी बनाउने संस्कारको विकास भएको छ’ कार्यालय सचिव भट्टराई सुनाउँछन् । उनका अनुसार आश्रित ज्येष्ठ नागरिकलाई लुगा कपडा वितरण गर्ने, खाना पकाएर खुवाउने र दानपेटीकामा रकम सहयोग गर्ने मनकारीहरुको सहयोगकै भरमा परोपकार तथा अनुसन्धान केन्द्र वुद्धाश्रम सहजरुपमा चलिरहेको भट्टराईको भनाई छ ।
अहिले समाजको अवस्था हेर्दा वृद्धाश्रम आउनेहरुको संख्या बढ्ने देखिन्छ । सुरुवाती दिनको तुलनामा हाल यहाँ आश्रय लिन आउने ज्येष्ठ नागरिकको संख्या बढेको केन्द्रले जनाएको छ । असहाय वृद्धवृद्धाहरु थपिँदै गएकोले संस्था पहिलेभन्दा ठूलो र फराकिलो हुँदै गएको कार्यालय सचिव बेनु भट्टराईले बताए । पहिलाभन्दा सुविधा, मनोरञ्जन, खाद्यान्न व्यवस्थापन, सुत्ने ठाउँ, लत्ता कपडा र अन्य आधारभूत आवश्यकताको व्यवस्था राम्रो हुँदै आएकोले आउँदा दिनहरुमा संस्था अझै बलिया हुने र निरन्तर चलिरहने भट्टाराईको विश्वास छ ।
मुलुक संघीय संरचनामा रुपान्तरित भएपछि पालिका, प्रदेश र केन्द्र सरकारबाट पनि केही न केही सहयोग प्राप्त हुन थालेको केन्द्रका अध्यक्ष बिक्रम मादेन बताउँछन् । पटक पटक गरी बिर्तामोड नगरपालिकाबाट साढे ३ लाख रुपैयाँ तथा प्रदेश १ सरकार र सांसदबाट ९ लाख प्राप्त गरेको उनले बताए । केन्द्र सरकारबाट ट्रष्ट निर्माणका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको भए पनि कोरोना कहरका कारण समयमा नै काम पूरा नहुँदा २ लाख ७० हजार रुपैयाँमात्र लिन पाएको उनले बताए ।
समुदायको मुष्ठिदान र मनकारीहरुले जन्म दिन, पितृकर्म, विवाह वर्षगाँठ, तीज तथा विभिन्न पर्वहरु यही वृद्धाश्रममा आएर मनाउने गर्दा यसको पहिचानमा वृद्धि हुनाको साटो ज्येष्ठ नागरिकको मुहारमा हाँसो ल्याउन सहयोग पुगेको अध्यक्ष मादेनको भनाई छ ।
समितिका अध्यक्ष मादेनले पटक पटक गरी हालसम्म २१ लाख रुपैयाँ प्रदान गरेर निर्माणका हरेक कामहरु सञ्चालन गरिएको कार्यालय सचिव भट्टराईले जानकारी दिए । त्यसो त समितिमा रहेका सबैले कम्तीमा पनि १ लाख रुपैयाँ हाराहारीदेखि माथि सहयोग गरेको अध्यक्ष मादेन बताउँछन् ।
सर्वसाधारणको सहयोगबाट चलेको सो वृद्धाश्रम सञ्चालनका लागि मासिक अढाई तीन लाख रुपैयाँ खर्च हुने जानकारी दिँदै अध्यक्ष मादेन भन्छन् धेरै त दान दातब्यबाट पुग्दै आएको छ । कोरोनाकालमा समस्या भयो, कतैबाट सहयोग आएन । त्यस्तो समयमा आन्तरिक बचतबाट काम चलाइयो । बृद्धाश्रमको सेवाभावबाट खुसी भएर कतिपय बिजोक भएका बृद्धहरु यही आश्रममा आउन इच्छुक भएको मादेनको भनाई छ ।
वृद्धाश्रमका लागि अब आफ्नै २ कठ्ठा ९ धुर जमिन छ । संस्थापक दाता गुरुभक्त ओझाले एक कठ्ठा निःशुल्क प्रदान गरेका हुन् भने हालसालै १ कठ्ठा ९ धुर जमिन ४० लाख रुपैयाँमा खरिद गरिएको छ । अन्धुवा खोलाको किनारको जग्गा भएकाले पछिल्लो खरिद पनि न्यून मूल्यमा प्राप्त गर्न सफल भएको जनाउँदै अध्यक्ष मादेनले अबको समस्या चाहिँ खोला कटानको रहेको बताएका छन् । अन्धुवा खोलाले बृद्धाश्रमको भवनलाई कुनै पनि समयमा छुनसक्छ, यसको संरक्षणका लागि तटबन्ध गर्नु जरुरी छ ।
सबैबाट यथासक्य सहयोग जुट्तै आएकाले वृद्धाश्रम बाँचिरहेको स्मरण गर्दै अध्यक्ष मादेनले भने, ‘अब पनि कतैबाट सहयोग जुटाउन सकियो भने खोला किनारमा तटबन्ध गरेर वृद्धाश्रम भवनको संरक्षण नगरी भएकै छैन ।’ इन्जिनियरले तटबन्ध निर्माणका लागि १४ लाख रुपैयाँ खर्च आउने लागत निर्धारण गरेको सुनाउँदै अध्यक्ष मादेनले बर्खा नलागी उक्त काम सम्पन्न गर्नका लागि तीनवटै सरकार समक्ष गुहार गरिरहेको पनि बताए ।
Comments