पूर्वाञ्चल क्यान्सर अस्पतालमा विश्वस्तरीय उपकरणहरु ल्याइँदै
Published: (Updated: )
by .बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित बी एण्ड सी हस्पिटल अन्तरगत स्थापनाको चरणमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालका लागि विश्वस्तरीय उपकरणहरु आयात गरिएको जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखाले आयातको स्वीकृति दिएर नेपाल ल्याइएका ११ थान मेसिन विश्वविख्यात रहेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालको भौतिक पूर्वाधारको निर्माण तथा मेसिन औजारहरुको आयात समेत गर्दा ८० प्रतिशत काम सम्पन्न भएको वीएण्डसी टिचिङ हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताएका हुन् ।
विश्वस्तरीय अत्याधुनिक उपकरणसहित दक्ष चिकित्सकबाट क्यान्सरको मात्रै उपचार गर्ने उद्देश्यले सञ्चालनमा ल्याउन लागिएको पूर्वाञ्चल क्यान्सर अस्पतालको सञ्चालन आगामी माघ महिनाको दोस्रो सातासम्ममा गर्ने कार्यकारी निर्देशक प्रसाईंको भनाई छ ।
फोरडी सिटी, पेट सिटी, गामा क्यामरा, क्याथ ल्याव, सिटी स्क्यान, अल्ट्रासाउण्ड, ब्रासी थेरापीजस्ता अत्याधुनिक तथा विश्वस्तरीय उपकरण भित्राएर क्यान्सरको उपचार शुरु गर्न लागिएको क्यान्सर रोग विशेषज्ञ डा. वीरेन्द्र यादवले जानकारी दिए ।
उनले पेट सिटी स्क्यान, गामा क्यामेरा नेपालमै पहिलोपटक भित्रन लागेको समेत बताएका छन् । ५० करोड रुपैयाँको लागतमा यी दुई उपकरण पूर्वाञ्चल क्यान्सर अस्पतालले भित्र्याउन लागेको जनाएको छ ।
खरिद प्रक्रिया सकेर केही महिनामै उक्त उपकरणहरु नेपाल आइपुग्ने जनाइएको छ । दक्षिण एशियाकै सुविधासम्पन्न अस्पताल बनाउने उद्देश्यका साथ आफूहरु लागीपरेको हस्पिटलका कार्यकारी निर्देशक प्रसाईंले जानकारी दिएका छन् ।
नेपालमा बार्षिक ३० हजार क्यान्सरका नयाँ रोगी थपिने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । पूर्वमा क्यान्सरका रोगी बढेसँगै बिर्तामोडमा नै क्यान्सरको सम्पूर्ण उपचार गर्ने उद्देश्यले छुट्टै अस्पताल नै निर्माण गरेर सेवा दिन लागिएको जनाइएको छ ।
हस्पिटलका डा. उमेश शर्माले आफ्नो २५ वर्षे चिकित्सकीय पेशा अवधिमा थुप्रै बिरामीहरु सस्तो उपचारका लागि भौंतारिइरहेको पाएको बताए । तर हालैको अमेरिका भ्रमणबाट आफूले बीएण्डसीमा प्रयोग गरिँदै आएका उपकरणहरुको गुणस्तर अमेरिकाका अस्पताल सरह पाएको सुनाए ।
भने, ‘अमेरिकामा सिटी स्क्यान गरेको ५०० डलर तिर्नुपर्ने रहेछ, सोही गुणस्तरको मेसिनले सिटी स्क्यान गरेको यहाँ चार हजार रुपैयाँ शुल्क छ, कुन महङ्गो ?’ त्यसैले उपचार विधि र पद्धतिलाई मूल्याङ्कन गराउँदा बीएण्डसीको उपचार खर्च महङ्गो हुनै सक्तैन, डाक्टर शर्माको जिकिर छ ।
Comments