साझा बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभामा दर्जनौं सम्मानित
Published: (Updated: )
by .कनकाई । कनकाई नगरपालिका वडा नं. ७ दुर्गापुरस्थित साझा बहुउद्देश्यीय सहकारी संस्थाको २९औं साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गोपालप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न साधारणसभाको प्रमुख आतिथ्य प्रदेश सहकारी रजिष्ट्रार बलराम निरौलाले गरेका थिए ।
साधारणसभा उद्घाटन समारोहमा अध्यक्ष उप्रेतीले संस्थाको भावी कार्ययोजनासहित वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । बचत र ऋणको कारोबारमा मात्र सिमित नरही संस्थाले आफ्नै भवनमा डिपार्टमेन्टल स्टोर सञ्चालन गरी सदस्यलाई सेवा प्रवाह गरिरहेको अध्यक्ष उप्रेतीले जानकारी दिए ।
साधारणसभाको अवसरमा संस्थाले विगतमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरेको छ । सम्मानित हुनेहरुमा सञ्चालक समितिका पूर्वअध्यक्ष दिनेशकुमार पोखरेल, सञ्चालक समितिका पूर्वसदस्य देवीप्रसाद खरेल, लेखा समितिका पूर्वसंयोजक धर्मानन्द निरौला, निर्वाचन समितिका पुष्पलाल राजवंशी रहेका छन् ।
सम्मानित हुने अन्यमा उत्कृष्ट बचतकर्ता कनकाई ७ की पुण्यकुमारी पौडेल, असल ऋणी कनकाई ७ का चन्द्रमान कन्दङ्वा रहेका छन् । त्यस्तै संस्थाका शेयर सदस्यका छोराछोरी मध्येबाट उत्कृष्ट विद्यार्थी सम्मान कनकाई ९ निवासी शेयर सदस्य शाहवानी राजवंशीकी छोरी सृजना राजवंशी रहेकी छन् ।
कार्यक्रमका प्रमुख अतिथि निरौला र संस्थाका अध्यक्ष गोपाल उप्रेतीले उनीहरुलाई सम्मानपत्र प्रदान गरी खादा ओढाएर सम्मान गरेका थिए ।
संस्थाका व्यवस्थापक विष्णुप्रसाद चुँडालको सञ्चालन एवम् उपाध्यक्ष टिकाप्रसाद पाठकले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि निरौलाले सहकारी व्यवसायका सकारात्मक नकारात्मक पाटोहरु केलाउँदै नीति, विधिका आधारमा संस्था सञ्चालन गर्न सुझाव दिएका थिए ।
सो कार्यक्रममा कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरिया, वडा नं. ७ का वडाअध्यक्ष लीलाबहादुर कन्दङ्वा, झापा जिल्ला सहकारी संघका सहसचिव कृष्णप्रसाद मिश्र, सम्मानित व्यक्तित्व दिनेशकुमार पोखरेलले आ–आफ्ना भनाई राखेका थिए ।
Comments