फोनिज झापाको अध्यक्ष बन्ने अमित खम्बूको घोषणा
Published:
by .झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अध्यक्षमा अमित खम्बूले उम्मेद्वारी दिने तयारी गरेका छन् । मंसीर २५ गते हुने फोनिज झापाको छैठौं अधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी रहने खम्बूले बताएका हुन् । उनले २०७४ सालबाट सचिवको जिम्मेवारी बहन गरिररहेका छन् ।
२०६५ सालबाट पत्रकारिता शुरु गरेका अमितकुमार साम्पाङ राई झापाका जुझारु युवा पत्रकार हुन् । तत्कालीन समयमा बिर्तामोडबाट प्रकाशित हुने यलम्वर साप्ताहिकबाट पत्रकारिता आरम्भ गरेका खम्बू हाल पूर्वाञ्चल दैनिकमा आवद्ध छन् । २०६८ सालबाट पूर्वाञ्चलमा आवद्ध हुँदै निरन्तर खोजमुलक तथा समसामयिक विषयमा उनी लेख्न रुचाउँछन् ।
विभिन्न सञ्चार माध्यममा काम गरिसकेका खम्बूले फोनिज झापालाई थप चलायमान बनाउँदै लैजाने दावी गरेका छन् । फोनिज झापाको हालसम्म आफ्नो छुट्टै भवन नभएको र जमिनको समेत व्यवस्था नभएकाले आफू अध्यक्षमा निर्वाचित भएमा भवन निर्माणका लागि जमिन व्यस्थापन गर्ने सहित सातवटा कार्ययोजना उनले अघि सारेका छन् ।
फोनिज झापाले स्थापना गरेको डिकमान सुनुवार विरही स्मृति वर्ष उत्कष्ट पुरस्कार र उदीयमान पत्रकारिता पुरस्कारको अक्षयकोषको रकम बृद्धि गर्दै दुवै पुरस्कारलाई थप व्यवस्थित बनाउने उनको कार्ययोजना छ ।
फोनिजमा आवद्ध पत्रकार सदस्यको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य उपचार कोष स्थापना गर्ने, सदस्यहरुको क्षमता अभिवृद्धिका लागि विषयगत तालिम सञ्चालन गर्ने, खोजमुलक समाचार लेखनमा प्राथमिकता दिने उनको घोषणापत्रमा उल्लेख छ ।
फोनिजमा आवद्ध पत्रकार सदस्यहरुलाई ठूला तथा राष्ट्रियस्तरका सञ्चार गृहमा आवद्ध गरउन पहल गर्ने र उनीहरुको नेतृत्व विकासका लागि सबैखाले भूमिका निर्वाह गर्ने योजना खम्बूले अघि सारेका छन् ।
Comments