Sajhamanch Archive

रामजानकी कृषि सहकारी अब बचत तथा ऋणमा परिवर्तन हुने

Published: in मुख्य समाचार, सहकारी by .

बिर्तामोड । राम जानकी कृषि सहकारी संस्थाले स्थापनाको उद्देश्य परिवर्तन गरी बचत तथा ऋण सहकारी संस्था बनाउने भएको छ । आज बुधबार सम्पन्न संस्थाको १३औं वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष दलबहादुर कार्कीले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै सोको प्रस्ताव गरेका थिए ।

वि. सं. २०६५ सालमा २९ जना शेयर सदस्यबाट एक लाख ४१ हजार शेयर पुँजी र दुई हजार ३१० रुपैयाँ निक्षेप संकलन गरी स्थापना गरिएको सो सहकारीमा आर्थिक बर्ष २०७७/०७८ असार मसान्तसम्म ६ हजार २७० जना शेयर सदस्य बनाइएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाको शेयर पुँजी एक करोड ५७ लाख ९९ हजार ८०० रुपैयाँ, निक्षेप १४ करोड ९१ लाख १५ हजार १५ रुपैयाँ, सदस्यमाझ लगानीमा रहेको कर्जा रकम १५ करोड ७६ लाख २६ हजार ४४८ रुपैयाँ रहेको अध्यक्षले सुनाए ।

संस्थाको मेरुदण्ड मानिने जगेडा तथा अन्य कोषमा संस्थाले ८० लाख तीन हजार ९४४ रुपैयाँ जम्मा गरेको छ भने विभिन्न बैंक तथा संस्थाहरुमा १० लाख १४ हजार ७०० रुपैयाँ लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

अघिल्ले आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा संस्थाको नाफामा ५४ दशमलव ५३ प्रतिशतले बृद्धि गरेर करकट्टी अघिको कूल मुनाफा २५ लाख ३१ हजार २९२ रुपैयाँ आर्जन गरिएको अध्यक्ष कार्कीले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदनमा जनाइएको छ ।

त्यस्तै संस्थाको स्थिर सम्पत्ती ४० लाख ३० हजार २४४ रुपैयाँ, बाह्य ऋण एक करोड २० लाख १५ हजार ६५९ रुपैयाँ र वासलात १८ करोड ९१ लाख ४४ हजार ८६४ रुपैयाँ बनाइएको प्रतिवेदनमा उल्लेख छ ।

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको रामजानकी कृषि सहकारीका बितामोड, सुरुङ्गा, हल्दिबारी, चकचकी, कामटोली, चन्द्रगढी र शनिश्चरेमा गरी ७ वटा स्थानमा सेवा केन्द्र सञ्चालनमा रहेका छन् भने ती कार्यालयमा ४१ जना कर्मचारी कार्यरत रहेको जनाइएको छ ।

जिल्ला सहकारी संघका निवर्तमान सचिव सहकारी अभियन्ता युवराज ढकालको प्रमुख आतिथ्यमा दिप प्रज्वलन गरी साधारणसभाको उद्घाटन गरिएको थियो । साधारणसभाका अतिथिहरुले १३ वटा क्यान्डल बालेर उद्घाट समारोहमा साथ दिएका थिए ।

उद्घाटन पछि मन्तब्य राख्दै प्रमुख अतिथि ढकालले संस्थाको प्रगतिमा सञ्चालक समिति, उपसमिति तथा कर्मचारीहरुको यथायोग्य प्रयास भएन भने मर्जरमा जानुको विकल्प रहन्न । तर आज १८–२० करोडको वासलात भएको संस्थालाई कसरी २ अर्बको बनाउने भन्ने ध्यान्नमा लाग्ने हो भने यही साधारणसभा हल त्यसको साधन हुनेछ भनी ढाडस दिए ।

संस्थालाई कस्तो बनाउने भन्ने सपना र परिकल्पना गरिएको छ भने आजको दिन नै हो, जसलाई छलफलमा ल्याउने, कार्यान्वयनका लागि प्रस्ताव गर्ने, कार्ययोजनामा समावेश गर्ने भन्दै अभियन्ता ढकालले सहकारीले समाज रुपान्तरणमा आमुल परिवर्तन गरिरहेको स्मरण गराए ।

संस्थाका ब्यवस्थापक शुक्रराज भण्डारीले सञ्चालन गरेको साधारणसभा उद्घाटन समारोहमा गरामनी कृषि सहकारी संस्थाका अध्यक्ष ताराप्रसाद चापागाईं, साझामञ्च डटकमका सम्पादक गोपाल काफ्ले, पूर्वाञ्चल दैनिकका सहसम्पादक सुरेन्द्र भण्डारीले शुभकामना मन्तव्य राखेका थिए ।

साधारणसभामा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई संस्थाका उपाध्यक्ष भीमबहादुर थापाले शाब्दिक स्वागत गरेका थिए । साधारणसभाको बन्दसत्रमा लेखा सुपरिवेक्षण समितिका संयोजक ज्ञानेन्द्रप्रसाद पोखरेलले समितिको प्रतिवेदन र कोषाध्यक्ष जीवन सुवेदीले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको ब्यवस्थापक भण्डारीले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *