कर्णाली साकोसको ईकाई साधारणसभा आजदेखि सुरु
Published:
by .बिर्तामोड । कर्णाली बचत तथा ऋण सहकारी संस्थाको २१औं वार्षिक साधारणसभा अन्तरगत आजदेखि ईकाई साधारणसभा प्रारम्भ गरिएको छ । पुष २१ गतेसम्म १४ वटा इकाईगत साधारणसभा सञ्चालन गरी हरेकबाट ३–३ जना प्रतिनिधि चयन गरेर पुस २५ गते अन्तिम माइन्युट प्रमाणिकरण साधारणसभा सम्पन्न गर्ने तालिका अनुसार ईकाइ साधारणसभा सुरु गरिएको जनाइएको छ ।
ईकाई साधारणसभा अन्तरगत पहिलो दिन बिर्तामोडमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष टसबहादुर प्रधानले वार्षिक कार्यप्रगति प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका सदस्य मनकुमार बेघाले आफ्नो समितिको प्रतिवेदन वाचन गरेर सुनाएका थिए ।
संस्थाका शेयर सदस्यहरु ललिता बस्नेत र सतिष अग्रवालले संयुक्तरुपमा दिपप्रज्वलन गरी उद्घाटन गरिएको ईकाई साधारणसभामा उपस्थित शेयर सदस्यहरुलाई उपाध्यक्ष ईश्वरीप्रसाद खरेलले शाब्दिक स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोले गरेका थिए ।
यसअघि संस्थाले मंसिर २६ गते पत्रकार सम्मेलन गरी वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको थियो । संस्थाका अध्यक्ष प्रधानले प्रतिवेदनका मुख्य अंशहरु वाचन गर्दै संस्थाको मेरुदण्ड मानिने विभिन्न कोषहरु जगेडा तथा अन्य कोषहरुमा १५ करोड ४८ लाख ३३ हजार ९७ रुपैयाँ रहेको जनाएका थिए ।
समीक्षा अवधिमा संस्थाको बचत एक अर्ब ५१ करोड १६ लाख २० हजार ३७६ रुपैयाँ र लगानीमा रहिरहेको कर्जा दुई अर्ब ८० करोड ८६ लाख २९ हजार ७८४ रुपैयाँ पुर्याइएको प्रतिवेदनमा उल्लेख छ ।
कर्णाली साकोसले भिजन २०८० का लागि निर्धारित लक्ष्य एवम् अधिकांश सूचकहरु गतवर्ष नै पूरा गरिसकेकाले पुनरावलोकन गरिएको जनाएको छ । यस्तै अत्याधुनिक प्रविधि एवम् डिजिटाइजेशनको माध्यमबाट सदस्यहरुलाई वित्तीय प्रवाह गरिरहेकोले नगदरहित कारोबार गर्ने सदस्यहरुलाई उत्साहित पनि गरिएको छ ।
Comments