बिर्तामोडमा एमाले कार्यकर्तालाई नेतृत्व विकास, बैठक सञ्चालन तथा माइन्युट लेखन सम्बन्धी प्रशिक्षण
Published:
by .बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीले मातहत कमिटीमा रहेर पार्टी काम गरिरहेको कार्यकर्तालाई आज नेतृत्व विकास, बैठक सञ्चालन तथा माइन्युट लेखन सम्बन्धी प्रशिक्षण दिएको छ ।
नगर कमिटी तथा १० वटै वडा कमिटीका विभिन्न तहमा क्रियाशील कार्यकर्तालाई तिक्ष्ण बनाउन तथा बैठक सञ्चालन पद्धतिबारे ज्ञान दिलाउन तालिमको आयोजना गरिएको आयोजक कमिटीको भनाई छ ।
नगर कमिटीका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा एमाले स्थायी कमिटीका सदस्य तथा पूर्वमन्त्री अग्नि खरेलको प्रमुख आतिथ्यमा उक्त तालिम सञ्चालन गरिएको हो ।
तालिमको उद्घाटन पछि मन्तब्य राख्दै एमाले नेता खरेलले १०औं राष्ट्रिय अधिवेशन पछिको कार्यभारहरु सुझाउँदै आउँदा दिनहरुमा हुन लागेका तीनै चरणका निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई हार्ने छुट नहुने गरी अब्बल र योग्य बनाउनुपर्ने औंल्याए ।
पार्टीमा संगठित सदस्यता विस्तार गर्दै देशकै ठूलो राजनीतिक शक्तिका रुपमा एमालेलाई परिभाषित गराउन सबै एमालेजनको न्यूनतम कार्यभार भएको उनको भनाई थियो ।
नगर कमिटीले आयोजना गरेको नेतृत्व विकास, बैठक सञ्चालन तथा माइन्युट लेखन सम्बन्धी प्रशिक्षणको सहजीकरण एमाले प्रदेश कमिटीका सदस्य भीमा शिवाकोटी र प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गोपाल काफ्लेले गरेका थिए ।
तालिम समापनमा सहभागीहरुलाई बिर्तामोड नगरपालिकाका उपप्रमुख तथा एमाले प्रदेश कमिटीका सदस्य पवित्रा महतारा प्रसाईले प्रमाणपत्र प्रदान गरेकी थिइन् ।
सहभागीहरुलाई प्रमाणपत्र प्रदान पछि मन्तब्य राख्दै नगर उपप्रमुख प्रसाईले भनिन्, ‘सिकेर कहिल्यै सकिँदैन, हतियारमा साँध लगाएजस्तै तालिमले भुत्ते अभ्यासमा धार लगाउने काम गरेको छ र सहभागीलाई सशक्तिकरण गर्न यसले बल पुर्याएको छ ।’
पार्टी संगठन बलियो बनाउन यस्ता तालिमहरु निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता दर्शाउँदै नगर उपप्रमुख प्रसाईंले आजको प्रशिक्षणमा सिकेका कुराहरु अरुलाई बाँड्न पनि प्रशिक्षार्थीहरुलाई सुझाव दिइन् ।
प्रशिक्षण कार्यक्रमको सञ्चालन नगरकमिटीका सचिव शेखर कडेलले गरेका थिए । प्रशिक्षणको अध्यक्षता गरेका नगरकमिटीका अध्यक्ष सुवास भट्टराईले आजको प्रशिक्षणबाट आफूले योभन्दा पहिले कहिल्यै नसुनेका, नगरेका धेरै कुरा थाहा पाएको बताए ।
तालिम फलदायी बनेकोमा खुशी ब्यक्त गरेका उनले अब नगर कमिटी मातहतका कमिटीहरुले यही सीपअनुसार माइन्युट लेख्ने बानीको विकास गर्न निर्देशन पनि गरेका छन् ।
Comments