Sajhamanch Archive

अनारमनी आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाटन

Published: in मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगरपालिका ४ मा रहेको अनारमनी आधारभूत विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । नेपाल सरकारको १६ लाख रुपैयाँ र जिल्ला समन्वय समिति झापाको ८ लाख गरी २४ लाख रुपैयाँको लागतमा निर्मित २ कोठे भवनको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले रिवन काटेर उद्घाटन गरेका हुन् ।

भवन उद्घाटनसँगै विद्यालयमा आइसीटी कक्ष, खाजा घरको समेत उद्घाटन गरिएको छ भने विद्यार्थीलाई टाई र बेल्ट वितरण गरिएको छ । विद्यालयका प्रधानाध्यापक टंक कटुवालका अनुसार कम्प्युटर कक्ष (आइसीटी) पाँच लाख रुपैयाँको लागतमा तयार गरिएको हो । बिर्तामोड नगरपालिकाको सहयोगमा आइसीटी कक्ष तयार भएको प्रधानाध्यापक कटुवालको भनाई छ ।

सहारा नेपालसँगको साझेदारीमा चार लाख रुपैयाँको लागतमा खाजा घर तयार गरिएको छ । सहारा नेपालको तर्फबाट दुई लाख रुपैयाँ र बिर्तामोड नगरपालिकाले दुई लाख रुपैयाँ प्रदान गरेसँगै खाजा घर निर्माण गरिएको पनि प्रधानाध्यापक कटुवालले बताए ।

कक्षा ७ सम्म सञ्चालित विद्यालयमा अध्ययनरत २६९ जना विद्यार्थीलाई टाई बेल्ट समेत वितरण गरिएको छ । योसँगै विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने खेल क्षेत्रमा उत्कृष्ट हुने सबै विद्यार्थीलाई पुरस्कृत पनि गरियो ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर शिक्षा प्रमुख तिलचन भण्डारी, बिर्तामोड नगरपालिका ४ का वडाअध्यक्ष कुलप्रसाद संग्रौला लगायतले बोलेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मदन रसाइलीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कटुवालले विद्यालय भवनको अभाव हुँदा अझैं पनि चारवटा कक्षालाई संयुक्तरुपमा सञ्चालन गर्नु परेको अवगत गराए ।

अहिले सो विद्यालयमा कक्षा १ र २ को संयुक्त कक्षा सञ्चालितन छ भने ३ र ४ को समेत कक्षा कोठाको अभावमा संयुक्त कक्षा सञ्चालन भइरहेको कार्यक्रममा जानकारी गराइयो । कार्यक्रमको सञ्चालन तुलसा ओझाले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *