Sajhamanch Archive

उपाधिका लागि झापा गाउँपालिका र आमचोक गाउँपालिका भोजपुर शनिबार भिड्दै

Published: in खेलकुद, स्थानीय तह by .

झापा । झापा गाउँपालिका वडा नं. ६ शरणामतीमा भइरहेको दोश्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधिका लागि आयोजक झापा गाउँपालिका र आमचोक गाउँपालिका भोजपुरबीच प्रतिष्पर्धा हुने भएको छ ।

आयोजक झापा गाउँपालिकाले उपाधि दाबेदार बिर्तामोड नगरपालिकालाई पराजित गरेपछि फाइनलमा झापा गाउँपालिका र आमचोक भिड्ने निश्चित भएको हो । झापाले अन्तिम सेमिफाइलनमा बिर्तामोडलाई सोझो सेटमा पराजित गरेको थियो ।

बिर्तामोडमाथि झापाले २५–१९, २५–१७ र २५–१८ को सोझो सेटमा जित हात पारेको हो । सो खेलमा उत्कृष्ट प्रदर्शन गरेका झापा गाउँपालिकाका अनिष गणेश म्यान अफ दि म्याच घोषित भए ।

यसअघि आजै पहिलो सेमिफाइनलमा दमकले नखेल्ने जनाएपछि आमचोक सिधै फाइनल प्रवेश गरेको हो । दमकका खेलाडी ज्योतिप्रकाश लिम्बुले पाँचथरको मिक्लाजुङ्गबाट गत मंसीर २२ गते खेल खेलेको भन्दै आमचोकले प्रमाणसहित उजुरी गरेपछि आयोजकले सहभागी टिमहरुलाई दिएको पत्रको बुँदा नम्बर ५ अनुसार खेल खेल्न दिन नसक्ने जनाएको थियो । सो बुँदामा यसअघि अन्य पालिका तथा जिल्लाबाट खेल खेलेको भए यस प्रतियोगितामा खेल्न नपाउने उल्लेख छ ।

सो निर्णयपछि दमकले दमककै नागरिक भए पनि अन्यत्रबाट खेलेकै आधारमा खेल्न नपाउने हो भने यो प्रतियोगितामा नखेल्ने भन्दै मैदान छाडेर हिडेको थियो । दमक डिफेण्डिङ्ग च्याम्पियन समेत हो ।

फाइनल खेल भोलि हुनेछ । प्रतियोगिताको विजेताले नगद एक लाख ५१ हजार तथा उप–विजेताले नगद एक लाख हात पार्नेछन् । जनता माविको खेल मैदानमा जारी प्रतियोगितामा प्रदेश १ का १६ टिमको सहभागिता छ । प्रतियोगिताको आयोजना झापा गाउँपालिकाले गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *