मेचीनगरमा थपिए नयाँ कुष्ठरोगी
Published: (Updated: )
by .मेचीनगर । मेचीनगर नगरपालिकाले सन्दिग्ध कुष्ठरोगीको खोजपड्ताल गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाउन थालेपछि नगरमा कुष्ठरोगीका नयाँ विरामी फेला पर्न थालेका छन् ।
नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक शशीकला राईले स्वास्थ्यकर्मीहरु कुष्ठरोगी खोज्दै गाउँगाउँ जान थालेपछि नगरका विभिन्न वडामा १६ जना नयाँ रोगी फेला परेको बताइन् ।
उनका अनुसार सामाजिक भेदभावका कारण कुष्ठरोगीहरु खुलेरै उपचारका लागि नपुग्ने गरेका कारण मानिस अपाङ्ग हुने गरेका छन् ।
नगर स्वास्थ्य शाखाका अनुसार सबैभन्दा बढी वडा नम्बर १० को धुलाबारी क्षेत्रमा ७ जना कुष्ठरोगी रहेका छन् । ५ जनामा खतरनाक एमबी र २ जनामा सामान्य खालको नसर्ने प्युसी प्यासीलरी फेला परेको जनाइएको छ ।
यसैगरी १४ नम्बर वडाको दुहागढी क्षेत्रमा २ जनामा एमवी, १५ नम्बर वडाको ज्यामिरगढी आसपासमा ३ जना एमवी, बाहुनडाँगी क्षेत्रमा २ जनामा एमवी र १ जनामा पीवी तथा काँकरभिट्टा क्षेत्रमा १ जनामा एमवी फेला परेको संयोजक राइले जानकारी दिइन् ।
राज्यले १० हजार जनसंख्यामा १ जना कुष्ठरोगी भएमात्र त्यसलाई निवारणको अवस्था भन्ने गरेको छ । तर, मेचीनगरमा त्यो भने हुन नसकेको स्वास्थ्य शाखाका सहसंयोजक रामनारायण यादवको भनाई छ ।
स्वास्थ्यकर्मीको टोलीले घरघरै पुगेर फेला पारेका सन्दिग्ध व्यक्तिहरुलाई स्वास्थ्य केन्द्रमा बोलाएर कुष्ठरोग लागेको हो कि होइन भनी यकिन गरेर उपचारको निःशुल्क व्यवस्था मिलाइएको यादवले जानकारी दिए ।
नगरपालिकाले गत जेठ २३ देखि २६ गतेसम्म घरघरै पुग्नका लागि चार दर्जनभन्दा बढी सङ्ख्यामा स्वयम्सेवी कार्यकर्तालाई तालिम दिएको थियो । तालिम पाएका तिनै व्यक्तिहरु खोजपड्तालमा गएका थिए । टोलीले शङ्का लागेमा शरीरको पूरै खानतलासी लिएर कुष्ठरोगको लक्षण पहिल्याएका थिए ।
एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्ने तर मासु र स्नायु लट्ठिने भएकाले रोगीले उपचारमा बेवास्ता गर्दा कुष्ठरोग निवारणमा समस्या आइरहेको स्वास्थ्य संयोजक शशिकला राई बताउँछिन् । शरीरका विभिन्न अंगमा फुस्रो र नचिलाउने दाग आउनु, स्नायु लट्ठिनु, घाउमा घोच्दासमेत नदुख्नु आदि यस रोगका लक्षण हुन् ।
‘कुष्ठरोगी भन्ने बित्तिकै पहिला पहिला हेलाको भावले हेरेन्थ्यिो’ राईले भनिन् ‘यही भएर हाम्रो समाजमा कुष्ठरोगीको उपचार समयमै हुन सकेको थिएन ।’
‘पछिल्लो समयमा मानिसमा थोरै भएपनि चेतना आएको छ । चेतनासँगै यस्तो रुढीबादी र अन्धविश्वासको अन्त्य भएको छ, मानिसको शरीरमा कुनै पनि दाग देखिने वित्तिकै उपचारका लागि आइहाल्ने गरेका छन्’ स्वास्थ्यकर्मी रामनारायण यादवको भनाई छ ।
रोग लुकाएर राख्ने, खुलेर उपचारका लागि नआउने कारणले मानिस जिन्दगीभर अपाङ्ग भएर बाँच्न बाध्य हुनेगरेका स्वास्थ्यकर्मीको बताउँछन् । अहिले पनि धेरै कुष्ठरोगीहरु मन्दिरमा बसेको देखिन्छ, स्वास्थ्य संयोजक राई भन्छिन् समयमै उपचार नगर्ने अन्तिम चरणमा मात्र उपचार खोज्ने कारणले जीवनभरका लागि शारीरिक अपांगता हुनु परेका धेरै उदाहरण छन् ।
बसाइसराई, खुला सीमाना बिरामी अंगभंग भएपछि मात्र उपचारका लागि आउनेलगायतका कारण कुष्ठरोग नियन्त्रण कार्यक्रम प्रभावकारी बन्न नसकेको तथा कुष्ठरोग निवारणमा चुनौती बन्ने गरेको उनले बताईन ।
स्वास्थ्य अधिकारीका अनुसार बसाइसराई गरेर आउने दर बढी हुँदा, भारतीय बजारमा रोजगारी गरेर फर्कने तथा आफन्तहरुसँगको भेटघाटमा आउनेका मानिसका कारण झापालगायतका केही जिल्लामा कुष्ठरोग निवारण हुन सकेको छैन ।
बरु वर्षेनी रोगीको संख्या बढ्ने गरेको स्वास्थ्य अधिकारीहरुको भनाई छ । विश्वमा कुष्ठरोगीको संख्या जति छ त्यसको आधा भन्दा बढी भारतमा मात्र रहेको अधिकारीहरु बताउँछन् ।
सरकारले सन् २०२० सम्ममा देशभरबाट कुष्ठरोग निवारण गर्ने उद्देश्य राखेको भएपनि देशमा तराईका जिल्लामा हरेक वर्ष नयाँ कुष्ठरोगी फेला पर्ने क्रम भने रोकिएको छैन । नेपाली सरकारी स्वास्थ्य अधिकारीका अनुसार भारतमा कुष्ठरोग उन्मुलन नभएसम्म नेपालमा दीर्घकालीनरुपमा उन्मुलन हुन सक्दैन ।
सरकारले २०६६ सालमा नेपाल कुष्ठनिवारण भएको घोषणा गरेको छ । तर, अझै पनि नेपालका १८ वटा जिल्लामा रोग निवारण भएको छैन् । झापामा कुष्ठ प्रभावितहरुको संख्या प्रति दशहजारमा १७७ प्रतिशत रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
Comments