Sajhamanch Archive

मनकामना कलेजः भलिबल र फुटसल खेलका फाइनलिष्टहरुलाई पुरस्कार र ट्रफी प्रदान

Published: in खेलकुद, शिक्षा by .

बिर्तामोड । यहाँस्थित मनकामना कलेजमा सञ्चालित सप्ताहब्यापी खेलकुद प्रतियोगिता अन्तरगत भलिबल र फुटसलको फाइनल खेल सम्पन्न गरी नगद पुरस्कार, ट्रफी तथा पदक वितरण गरिएको छ ।

मनकामना कलेजको मातृसंस्था कौटिल्य एजुकेशन फाउन्डेसनका अध्यक्ष कुमार बस्नेतको प्रमुख आतिथ्यमा भलिबल र फुटसल प्रतियोगिताका फाइनलिष्टहरुलाई नगद पुरस्कार तथा ट्रफी प्रदान गरिएको हो ।

खेलकुद प्रतियोगिताका संयोजक कुमार थपलियाका अनुसार छात्रतर्फको भलिबल खेलमा बिबिएसको टिम विजयी भएको छ भने बिएसडब्ल्युको टिम उपविजेता बन्यो ।

यस्तै छात्रातर्फको भलिबल खेलमा पनि बिबिएसको टिम विजयी भएको छ भने कक्षा ११–१२ कानून संकायको टिम उपविजेता बन्यो ।

छात्र भलिबल प्रतियोगिताको उत्कृष्ट खेलाडीका रुपमा बिबिएसका विद्यार्थी समिप कार्की घोषित भए भने छात्रा भलिबलमा कानून संकायका अनिता थपलिया उत्कृष्ट खेलाडी भइन् ।

खेलकुद प्रतियोगिता अन्तरगत नै सम्पन्न फुटसल खेल पनि सम्पन्न गरी सोही कार्यक्रममा नगद पुरस्कार, ट्रफी तथा मेडल प्रदान गरिएको छ । फुटसल खेल संयोजक रजत ओझाका अनुसार छात्रतर्फको मात्र फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

फुटसल प्रतियोगितामा बिएसडब्ल्युको टिम विजयी भएको छ भने बिबिएसको टिमले उपविजेतामा चित्त बुझाउनु परेको छ । छात्रतर्फ सम्पन्न फुटसल खेलमा बिबिएसका रिकेश कार्की उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगिताको फाइनल खेलका सबै खेलाडीहरु तथा उत्कृष्ट घोषित सबैलाई नगद पुरस्कारसहित मेडल प्रदान गरिएको थियो भने विजयी तथा उपविजयी टिमलाई ट्रफी प्रदान गरिएको थियो ।

क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि कौटिल्य एजुकेशन फाउन्डेसनका अध्यक्ष कुमार बस्नेतले आफ्ना धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *