Sajhamanch Archive

भद्रपुरका पुराना खाद्य उद्योगी गुप्ताको निधन

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज by .

भद्रपुर । झापाको भद्रपुरमा ६ दशकअघि स्थापना भएको एउटा धान–चामल तथा तेल मिलका सञ्चालक रामचन्द्र गुप्ताको निधन भएको छ ।

नेपालबाट भारततर्फ धान–चामल निर्यात भइरहेको समयमा वि. सं २०२० सालमा स्थापना भएको गुप्ता राइस एण्ड आयल मिलका सञ्चालक गुप्ताको ८६ वर्षको उमेरमा शुक्रबार बेलुकी भद्रपुर ५ स्थित निवासमै निधन भएको हो । हिजो शनिबार बिहान स्थानीय मेची नदीमा विधिपूर्वक दाहसंस्कार गरिएको परिवारले जनाएको छ ।

दाहसंस्कार स्थलमा सहभागी भएका जिल्लाका प्रतिष्ठित उद्योगी–व्यवसायीहरुले स्वर्गीय गुप्ताप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । गुप्ता मुटुको बिरामी थिए । उपचारका लागि भारतको दिल्ली पुर्याइए पनि उपचार सम्भव नभएपछि घरमै आराम गरेर बसेको अवस्थामा निधन भएको बताइएको छ ।

गुप्ताकी धर्मपत्नी सुशीलादेवी गुप्ताको दुई वर्षअघि २०७६ कात्तिकमा निधन भएको थियो । पिता जंगलीराम र माता फूलवासीदेवीका छोरा गुप्ता भद्रपुर मिल्स एशोसिएसनका संस्थापक सदस्य हुन् । सो एशोसिएशन हाल झापा उद्योग संघमा रुपान्तरित भएको छ । कानु हलुवाइ कान्दु मध्यदेशीय समाज झापाको अध्यक्षसमेत रहेका गुप्ता सामाजिक तथा धार्मिक व्यक्तित्वका रुपमा पनि परिचित थिए ।

उनले मेची अस्पतालमा बिरामीका लागि एउटा क्याविन कोठा, मेची बहुमुखी क्याम्पसमा विद्यार्थी पढ्ने एउटा कक्षाकोठा बनाइदिएका छन् भने भद्रपुर ५ स्थित जगन्नाथ मन्दिर निर्माणमा सर्वाधिक योगदान पुरयाएका छन् । त्यस्तै, विभिन्न मठ–मन्दिर तथा सामाजिक संघ–संस्थामा सहयोग पुर्याएका छन् ।

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रका आजीवन सदस्य गुप्ताका पाँच छोरा जयशंकरप्रसाद, विनोदकुमार, शिवकुमार, राजेश र सन्तोष छन् भने तीन छोरी सरिता, कविता र पुनम रहेका छन् ।

भद्रपुरको उद्योग–व्यवसाय क्षेत्रमा गुप्ता परिवारको उल्लेखनीय योगदान छ । गुप्ता परिवारको पेट्रोलियम, चामल, दाना र चिया उद्योगहरुमा लगानी रहेको छ । गुप्ताको निधनप्रति झापा उद्योग संघले दुःख प्रकट गरेको छ । संघले भद्रपुरको मात्र नभई जिल्लाकै पुराना अनुभवी उद्योगी गुप्ताको निधनले झापाको उद्योग क्षेत्रमा क्षति पुगेको उल्लेख गरेको छ । यसैगरी नेपाल चिया उत्पादक संघले पनि गुप्ताको निधनले उद्योग व्यवसाय क्षेत्रमा क्षति पुगेको जनाएको छ ।

स्व. गुप्ताका साहिँला छोरा शिवकुमार झापा उद्योग संघको वरिष्ठ उपाध्यक्ष, नेपाल चिया उत्पादक संघको महासचिव एवम् पेट्रोलियम डिलर्स एशोसिएशनको सदस्यका रुपमा क्रियाशील छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *