Sajhamanch Archive

प्रदेश १ का मुख्य राजमार्गमा सीसी क्यामेरा जोड्ने तयारी !

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by .

विराटनगर । प्रदेश १ सरकारले कोसी पूलदेखि मेची पूलसम्म र विराटनगर जोगवनीदेखि धरानसम्मका मुख्य राजमार्गमा सीसी क्यामेरा जडान गर्ने भएको छ ।

प्रदेशको शान्ति सुरक्षालाई ख्याल गर्दै सो स्थानका मुख्य राजमार्ग क्षेत्रमा सीसी क्यामेरा जडान गर्न लागिएको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले जानकारी दिएका हुन् ।

रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाले उत्पादन गरेको कार्यक्रम प्रदेश डायरीसँग कुरा गर्दै मन्त्री कार्कीले शान्ति सुरक्षामा प्रविधिबाट निगरानी बढाउने तयारी थालेको जनाएका हुन् ।

सीसी क्यामेरा जडान गर्नका लागि यसै आर्थिक वर्षमा बजेट विनियोजन गरिएको मन्त्री कार्कीको भनाई छ । शान्ति सुरक्षाको दृष्टिकोणमा सरकार नागरिकसँगै छ भन्ने बनाउनका लागि प्रदेश सरकारले वैज्ञानिक ढङ्गले काम गरिरहेको उनको दावी थियो ।

‘हामीले वैज्ञानिक ढङ्गले काम गरिरहेका छौँ । प्रदेशको राजधानीलाई पनि हामीले प्रविधिमैत्री निगरानीमा राख्ने गरी काम गरिरहेका छौँ ।’ प्रदेश सरकारले १४ वटै जिल्लामा गरिब, असक्त, महिला आदिलाई लक्षित गरेर निःशुल्क कानूनी सहायता केन्द्र स्थापना गर्ने सो कार्यक्रममार्फत् मन्त्री कार्कीले जनाएका छन् ।

सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालय हो भनेर देखिने गरी काम गर्ने उनको भनाई छ । उनका अनुसार केही महिनाभित्रै प्रदेशका अदालत तथा बारहरूमा प्रदेश सरकारका ऐन कानून भेट्न सकिने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *