सामुहिक बलात्कार घटनाको अधिकारकर्मीद्वारा अनुगमन
Published:
by .विराटनगर । मोरङको सुन्दरहरैंचा–४ बलियामा गत शुक्रबार ३१ वर्षीया महिला सामुहिक बलात्कारमा परेको घटनाका विषयमा इन्सेक प्रदेश १, कार्यालय विराटनगरसहित अधिकारकर्मीको टोलीले आज पीडित र पीडित पक्षसँग भेट गरी घटनाका विषयमा अनुगमन गरेको छ ।
सामुहिक बलात्कार घटनामा पीडित महिलाको स्वास्थ्य अवस्थाका बारेमा अधिकारकर्मीहरूले कोशी अस्पतालमा पुगेर पीडितको अवस्थाका बारेमा जानकारी लिएका छन् । पीडितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएपछि पीडितको आर्थिक अवस्थालाई मध्यनजर गरी आर्थिक सहयोग गरिएको इन्सेक प्रदेश १ प्रमुख सोमराज थापाले बताएका छन् ।
घरेलु कामदारका रूपमा कार्यरत पीडितले तत्काल काम गर्नसक्ने अवस्था नभएकाले आर्थिक सहयोग गरिएको थापाको भनाई छ । पीडितलाई इन्सेकले ५ हजार रुपैयाँ र अन्य संस्थाले गरी १५ हजार रुपैंयाँ आर्थिक सहयोग गरेको जनाइएको छ ।
पीडितका बाबुले अधिकारकर्मीसँगको भेटमा दोषीलाई कारबाही र आफूहरूले न्याय पाउनु पर्ने माग रोखेका छन् । पीडितका बाबुले अधिकारकर्मीहरूलाई न्यायका लागि पहल गरिदिन पनि आग्रह गरे । अधिकारकर्मीको टोलीले मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई भेटर पीडितले न्याय पाउनु पर्ने विषयमा ध्यानाकर्षण गराएको छ ।
प्रमुख जिल्ला अधिकारी दाहालले घटनालाई गम्भीर रूपमा लिइएको बताउँदै ‘घटना सम्वेदनशील छ, शङ्का आशङ्का गर्नु पर्दैन, पीडितले न्याय पाउँछ’ भनेका छन् ।
सामुहिक बलात्कार घटनाका दुई आरोपी अर्जुन श्रेष्ठ र उनका भाइ सुरज भनिने मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरिसकेको छ । एकजना अझै परार छन् ।
घटनाको इन्सेक, एबीसी नेपाल, साझा सवालका लागि साझा मञ्च (कोकन), ओरेक, माइती नेपाल, आफन्त नेपाल, साना हातहरु, सिविनका प्रतिनिधिहरुले अनुगमन गरेका थिए ।
Comments