समाज र सँस्कृतिमा बढ्दो विकृति
Published:
by .हाम्रो सुन्दर नेपाली सँस्कृति अचेल विकृतिमा रुपान्तरित हुँदै गएको अनुभव हुन्छ । हाम्रो सँस्कृतिका विभिन्न पक्ष र पाटोमा हिजोआज विकृति झ्याँगिंदो अवस्थामा छ । पश्चिमी सँस्कृतिबाट आक्रान्त नेपाली समाज दिन प्रतिदिन विकृतिबाट जकडिँदै गइरहेको पाइन्छ । विशेषगरी खर्चालु बानी, अति भोगविलासी जीवनशैली, तडकभडक, राप रवाफपूर्ण आडम्बरी प्रवृति बढ्दै गएको छ ।
देखावटी वा बहानाबाजी शैली र अत्याधिक उपभोक्तावादी पश्चिमी सँस्कृतिको अन्धानुकरण आदि प्रवृत्तिहरुले हाम्रो समाजलाई घप्लक्क छोप्दै गइरहेको छ । विशेषतः तराई र शहरीक्षेत्रको समाज यसबाट बढी नै विकृत बन्दैछ । धनीमानी, शिक्षित वर्गबाटै यस्तो विकृति बिस्तारै बढ्दै गएको छ । यस्ता केही विकृतिहरुको यहाँ चर्चा गर्न गइरहेको छु ।
१. विवाहः वैवाहिक सँस्कृति हाम्रो परम्परादेखि चलिआएको सबै जाति समुदायको एक आदर्श पवित्र व्यवस्था थियो । पूर्वीय वैदिक परम्परा अनुसार वेदका ऋचा फलाकेर मन्त्र जप्दै अग्निलाई साक्षी राखेर गरिने कम खर्चिलो विवाह पद्धति साँच्चै सुन्दर थियो । तर अहिले भारतीय महङ्गो सँस्कृति भित्रिँदा सर्वसाधारणलाई छोराछोरीहरुको विवाह सम्पन्न गर्न अत्यन्त कठिन बन्दैछ । अत्याधिक महङ्गा वस्त्रहरु ठूलो खर्चिलो पार्टी भोज रक्सी, वियर, मासुको अत्याधिक प्रयोग, महङ्गा–महङ्गा दाइजो तिलक प्रथा, भोग विलासी बस्तुहरुको उपहार प्रचलन हाम्रो जस्तो गरिब समाजमा नसुहाउने व्यवहार हो ।
२. बर्थ डेः जन्मदिवश मनाउने हाम्रो आफ्नै सुन्दर वौदिक पवित्र आर्ष परम्परा थियो । घरमा पुरोहित पण्डितका सहयोगले अष्ट चिरञ्जीवीको पूजा गरी दीर्घायु सुस्वाथ्य र आरोग्यताको कामना गर्दै विभिन्न देवी देवता पुकार्दै आशिष मागिन्थ्यो । तर आज यसका ठाउँमा बर्थ डे सँस्कृतिमार्फत विकृतिहरु भित्रिँदैछन् । लाग्छ केही वर्षमा हाम्रो आफ्नोपन केही रहने छैन । नानाथरीका पश्चिमी बाजा बजाएर उफ्री उफ्री कराउँदै अँग्रेजी हिन्दी गीतमा डान्स गरेर रक्सी र मासुमा चोवलिएर महङ्गा–महङ्गा उपहार चढाउने प्रवृत्ति हाम्रो जस्तो गरिब देशम सुहाउने कुरा होइन ।
“हेप्पी बर्थ डे” भन्दै चिच्याँदैमा खुसी र सुन्दर दीर्घ जीवनको प्राप्ति पनि हुने होइन । केक काटेर र मैनवत्ती निभाउँने हाम्रो परम्परा थिएन । शुद्ध चोखो भोजन, प्रसाद सेवन गर्नुपर्नेमा कसैले कहाँ के के मिश्रण गरी कहिले बनाएको अस्वस्थ्यकर केक खानु स्वास्थ्यको दृष्टिले पनि राम्रो मान्न सकिन्न ।
३. पार्टी भोजः हाम्रो समाजमा जन्मदेखि मृत्यु पर्यन्त गरिने प्राचीन वैदिक सँस्कृति अनुसारको न्वारान, पास्नी, क्षेवर, ब्रतबन्ध, वैवाहिक–वार्षिकोत्सव, पूजापाठ, उत्सव आदिमा गरिने खर्च र त्यसको शैली हेर्दा लाग्छ अब हामी नेपाली रहेनौं, भएनौं । हुन त यस प्रकारको विकृति समाजमा धनीमानी साधु महाजन ठूलाठालु वर्गबाट नै प्रारम्भ भएको हो । तर आज आएर अर्काको देखासिकी गर्दैजाँदा मध्यवर्ग र निम्न मध्यम वर्ग हुँदै सर्वहारा निम्न वर्गमा समेत यो विकृतिले प्रवेश गरिसकेको छ । गाउँघरका साथीभाइहरु भेलाभएर बाँडीखाने समाजमा आफन्तलाई बोलाएर मीठो मसिनो बनाएर खाने–खुवाउने, हाम्रो सुन्दर परम्परा थियो ।
तर अचेल शहर बजारमात्र होइन गाउँगाउँमा व्यवसायिक रुपमा भोजभतेरका पार्टी व्यवस्था गर्ने क्याटरिङ प्रवृत्तिले हाम्रो आफ्नो मौलिक पन नासिँदो छ । साथै हाम्रा परम्परागत स्वास्थ्यवद्र्धक भोजनका परिकार हराउँदै गएर तिनका विकल्पमा विदेशी परिकार खाने बनाउने चलनलाई किमार्थ राम्रो मान्न सकिन्न । शहर बजारतिर अनेक गैर कानूनी तवरले आर्जित कालो धन खर्चिन नानाथरिका बहाना गर्दै भ्रष्टाचारी व्यभिचारीहरु अनेक प्रकारका विकृति भित्र्याउँछन् । अनि हामी सर्वसाधारण अन्धो जस्तै बनेर तिनकै उही विकृतिको नक्कल गर्दै दोहोर्याउँदैछौं ।
फलतः उनीहरुकै शैलीलाई पछ्याउँदै जाँदा आज हाम्रो मौलिक सँस्कृति लोपोन्मुख अवस्थामा पुगेको छ । अर्काले जसो गर्यो आफू पनि त्यसै गर्ने प्रतिस्पर्धामा आफ्नो आर्थिक हैसियतभन्दा माथिल्लो स्तरको खर्च गर्ने प्रवृत्ति बढेको छ । पर्व उत्सवमा पनि नचाहिँदो ढर्रा गर्ने क्षेवर, पास्नी, न्वारान, ब्रतबन्ध, गुन्युचोली आदि कार्यक्रममा महङ्गा महङ्गा उपहार दिने, धेरै मानिसहरु भेलापारेर ठूलो आवाजमा बजार–बजार समाजभरि नै ध्वनी प्रदुषण गर्ने रक्सी र मासुका अत्याधिक उपभोग गर्ने पद्धतिलाई विकृति नै मान्न सकिन्छ ।
यस्तै श्रम नगर्ने, हिंड्न नमान्ने, साइकल नचलाउने, कृषि कर्म गर्न लाज मान्ने, पशुपालन गर्न नरुचाउने, पसिना बगाउन नचाहने, अत्याधिक खानपान गर्ने सो अनुसारको व्यायाम परिश्रम नगर्ने, थोरै दूरी पनि सवारी साधनबाटै जान चाहने, राति ढिलो सुत्ने, बिहान ढिलो उठ्ने, बासी खाद्य पदार्थ खाने, ताजा भोजन नगरी फ्रिजमा राखेका हिजो अस्ति नै बनेको खाद्य बस्तु खाने, चिसो पेय पदार्थमा औधि रुचि राख्ने, श्रम नगरी आलस्यपुर्वक सुतेर वा टिभी वा मोवाइल चलाएर दिन बिताउने यस्ता धेरै विकृति विसङ्गतिले हाम्रो समाज कुरुप बन्दै गएको छ ।
विदेशकै मात्र मोह गर्ने, विदेशकै मात्र सपना देख्ने, स्वदेशलाईउ घृणा गर्ने अत्याधिक गरगहनाको प्रदर्शन गर्ने, छोराछोरीलाई श्रम गर्न नदिने नगराउने, साँझको खाना होटलमा गएर खाने, रात्री जीवनमा रमाउने, गाउँघर, खेताला–गोठाला श्रमिक मजदूर किसान, दाउरे घाँसे गरिब दुखीलाई घृणा हेला गर्ने आदिलाई पनि विकृति नै मान्न सकिन्न ।
(लेखक प्रसाई मनकामना कलेज बिर्तामोडका सहायक क्याम्पस प्रमुख हुन् ।)
Comments