Sajhamanch Archive

कमलमा बहुक्षेत्रीय पोषण योजना कार्यक्रम लागू हुने

Published: (Updated: ) in शिक्षा, समाज, स्थानीय तह, स्वास्थ्य by .

कमल । शरीरको आवश्यकता अनुसार पर्याप्त खाना तथा आहार नभएका कारण मानिसमा कुपोषण हुने भएकोले त्यसलाई न्यूनीकरण गर्न पछिल्लो समय सङ्घीय सरकारले बहुक्षेत्रीय पोषण योजना कार्यक्रमलाई तीब्रता दिएको छ ।

मानिसको शरीरलाई आवश्यक पर्ने पानी, कार्बोहाइड्रेड, चिल्लो पदार्थ, प्रोटिन, खनिज र भिटामिन आदि आहारामा पाइने प्रमुख तत्व हुन् । यी तत्वहरु दैनिक रुपमा शरीरको आवश्यकता अनुसार खानुपर्ने हुन्छ । यस्ता तत्व नमिलाई खाएमा मानिसमा कुपोषणको समस्या हुने पोषण विज्ञको भनाई छ ।

बालबालिकामा उमेर अनुसारको उचाई नहुनु, कम तौल हुनुजस्ता समस्या आउने गर्छ । यसलाई न्यूनीकरण गर्न सुरुदेखि नै पोषणयुक्त आहार खानुपर्ने हुन्छ । यस्ता समस्यालाई सुरुदेखि नै न्यूनीकरण गर्नका लागि संङ्घीय सरकारले बहुक्षेत्रीय पोषण योजना हरेक स्थानीय तहमा सञ्चालनमा ल्याएको बताइएको छ ।

बहुक्षेत्रीय पोषण योजना कार्यालयका प्रदेश संयोजक संजीवलाल घिसिङले मानिसको स्वास्थ्यसँग जोडिएको पोषण कार्यक्रमलाई सहयोग पुर्याउन कृषि, पशुपालन, महिला तथा बालबालिका, शिक्षा लगायतका सबै क्षेत्रलाई समेटेर यो कार्यक्रम सञ्चालन गरिएको बताएका छन् ।

कमल गाउँपालिकाले आगामी फागुन मसान्तभित्र बालमैत्रीयुक्त स्थानीय तह घोषणा गर्न लागिपरेकाले यस्ता कार्यक्रमले सो योजनालाई सहयोग पुग्ने बताउँदै पालिका अध्यक्ष मेनुका काफ्लेले सरकारले विद्यार्थीका लागि उपलब्ध गराएको दिवा खाजा खर्च अपुग भएकाले पोषण कार्यक्रमलाई सोहीभित्र समावेश गर्नु उपयुक्त हुने सुझाव दिएकी छन् ।

पुड्कोपन, ख्याउटेपन र कम तौलजस्ता न्यून पोषणको समस्या समाधान गर्न तत्कालीन र दीर्घकालीन उपाय अपनाउन आवश्यक छ । पुड्कोपनको अवस्थामा सुधार गर्नका लागि किशोरी एक हजार दिनका महिला तथा बच्चाको पोषणमा विशेष ध्यान दिनुपर्ने पोषणविद्को सुझाव छ ।

किशोरावस्था र गर्भवती भएको दिनदेखि नै प्रोटिनयुक्त, शक्ति दिने, शरीर वृद्धि विकास गर्ने, शरीरको रक्षा गर्ने पोषक तत्व भएको खानाको अवश्यक पर्ने भएकोले नियमित रुपमा पोषणयुक्त खानपान हुन आवश्यक रहेको बताइन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *