सतासी बहुमुखी सहकारीले ३ करोड ५० लाख रुपैयाँ शेयर पुर्याउने
Published: (Updated: )
by .बिर्तामोड । यहाँस्थित सतासी बहुमुखी सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभाले शेयर पूँजी र निक्षेपमा वृद्धि गर्दै सदस्यहरुलाई विविध सेवा, सुविधा प्रदान गर्ने निर्णय गरेको छ ।
संस्थामा गरिएको शेयर लगानीको आधारमा एक लाख ५० हजार रुपैयाँको दूर्घटना बीमाको सुविधा प्रदान गर्ने, कर्जा लिएको सदस्यको मृत्यु भएमा ५० हजार रुपैयाँ मिनाहा गरिदिने, सतासी डिपार्टमेन्टमा सामान किन्दा २ प्रतिशत छुट दिने लगायतको अध्यक्षको प्रस्ताव पारित भएको हो ।
संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठले आज बिर्तामोडमा १५औं वार्षिक साधारणसभामा सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा ३ हजार ७३० जना सदस्यबाट दुई करोड ७८ लाख ८२ हजार रुपैयाँ शेयर पूँजी रहेको बताए ।
अध्यक्ष श्रेष्ठले चालू आर्थिक वर्षमा शेयर पूँजी वृद्धि गरी ३ करोड ५० लाख रुपैयाँ पुर्याउने महत्वकांक्षी लक्ष्य पनि सुनाए ।
संस्थाले गत आर्थिक वर्षमा २६ करोड १९ लाख ६४ हजार रुपैयाँ ऋण लगानी गरेकोमा चालू वर्ष ३६ करोड १४ लाख पुर्याउने लक्ष्य पनि सुनाइएको छ । गत आर्थिक वर्षमा संस्थामा २० करोड १७ लाख निक्षेप मौज्दात रहेकोमा चालू वर्षमा २७ करोड पुर्याउन सदस्यहरुको सक्रिय सहभागिता रहनु पर्ने आवश्यकता औंल्याइएको छ ।
संस्थाले चालू वर्षमा आफ्ना सदस्यहरुलाई संरक्षित पूँजी फिर्ता कोषबाट आठ लाख २३ हजार रुपैयाँ फिर्ता गरिएको तथा सदस्य राहत वापत ६५ हजार रुपैयाँ प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले सञ्चालन गरेको सुपथ मूल्यको सहकारी पसल (सतासी डिपार्टमेन्ट स्टोर) काठमाडौं उपत्यकाभन्दा बाहिर सहकारीले सञ्चालन गरेको उत्कृष्ट पसल भएको दावी पनि गरिएको छ । संस्थाले आफ्ना सदस्यहरुका लागि उक्त पसलमा सामग्री खरिद गर्दा २ प्रतिशत छुट प्रदान गर्ने व्यवस्थाले कारोबारमा वृद्धि हुने संस्थाले अपेक्षा राखेको जनाइएको छ ।
संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले गरिदिएका हुन् ।
साधारणसभाको उद्घाटन सत्रमा आफ्नो मन्तब्य राख्दै अध्यक्ष पोखरेलले सामाजिक क्षेत्रको समेत प्रवद्र्धन गर्ने सहकारी अभियान विकासवादी रहेको धारणा व्यक्त गरे ।
सामाजिक एकता, जातीय एवम् लैङ्गिक समानताका हिसाबले सहकारी अभियान सबैभन्दा लोकप्रिय विधा भएको पनि अध्यक्ष पोखरेलको तर्क छ ।
राष्ट्रिय सहकारी बैंक विश्वको सहकारी अभियानमा नै नमूना भएको बताउँदै कार्यक्रमका प्रमुख अतिथि पोखरेलले नेपालमा ६५० अर्बको वार्षिक कारोबार गरिरहेको बैंकले सहकारीको प्रवद्र्धनमा उल्लेखनीय योगदान गरेको बताए ।
सहकारी ऐन २०७४ का बारेमा चर्चा गर्दै राष्ट्रिय सहकारी संघका सञ्चालक सदस्यसमेत रहेका अध्यक्ष पोखरेलले भने ‘नयाँ सहकारी ऐनमा केही कमी कमजोरी अवश्य छन् तर त्योभन्दा धेरै राम्रा पक्षहरु छन् । नराम्रा पक्षलाई संशोधन गरेर अभियानलाई उत्कृष्ट बनाउन लागिपर्नु हामी सबै अभियानकर्मीको दायित्व पनि हो ।’
संस्थाका प्रबन्धक सन्तोषकुमार श्रेष्ठले सञ्चालन गरेको साधारणसभाको उद्घाटन समारोहमा झापा जिल्ला सहकारी संघ लेखा समितिका संयोजक भलाकाजी कठेत, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र कर्णाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टिएस प्रधानले आफ्ना धाराणा राखेका थिए ।
सम्पादक काफ्ले पुरस्कृत
संस्थाको १५औं साधारणसभाको उद्घाटन समारोहमा साझामञ्चका सम्पादक गोपाल काफ्ले नगद पुरस्कारसहित सम्मानित भएका छन् । झापाको सहकारी अभियानलाई पत्रकारिताको माध्यमबाट प्रवद्र्धन गर्न उल्लेखनीय सहयोग गरिएकोमा उनलाई सम्मान गरिएको जनाइएको छ ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेल तथा संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठले सम्पादक काफ्लेलाई नगद ५१०० रुपैयाँसहित दोसल्ला ओडाएर तथा कदर पत्र प्रदान गरेर सम्मान गरेका हुन् ।
साझामञ्च मिडिया प्रालिले सञ्चालन गरिरहेको टेलिभिजन कार्यक्रम ‘साझा सहकारी मञ्च’ तथा साझामञ्च डट कम डिजिटल न्यूजपोर्टलको माध्यमबाट अधिकाधिक सहकारी गतिविधिहरुको समाचार सम्प्रेषण हुँदै आएका छन् ।
सम्पादक काफ्ले यसअघि डिभिजन सहकारी कार्यालय भद्रपुर, झापा जिल्ला सहकारी संघ, नेपाल बहुउद्देश्यीय सहकारी संस्था र सिम्रिक बचत तथा ऋण सहकारीबाट सम्मानित तथा पुरस्कृत भइसकेका छन् ।
पछिल्लो एक वर्षदेखि ‘सहकारी बिट’मा केन्द्रित रहेर पत्रकारिता गर्दै गएका काफ्लेलाई यही असोज ११ गते बिराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पनि आफ्नो वार्षिक साधारणसभामा नगदसहित सम्मान गर्ने जनाइएको छ ।
Comments