कमल गाउँपालिकाले स्थानीय कृषकलाई दियो १८ वटा पानी तान्ने मोटर
Published: (Updated: )
by .कमल । झापाको कमल गाउँपालिकाले स्थानीय कृषकलाई १८ वटा पानी तान्ने मोटर वितरण गरेको छ । गाउँपालिकामा रहेका साना कृषकलाई सिंचाई सुविधामा सहज होस् भन्ने उद्देश्यले सिंचाई मोटर उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।
विगतदेखि नै सिंचाइका लागि गाउँपालिकाले मोटर वितरण गर्दै आइरहेको थियो, यसैको निरन्तरता अन्तरगत यो वर्ष वडाबाट पठाइएको नामअनुसार १८ समूहलाई उक्त सामग्री वितरण गरिएको पालिकाले जनाएको छ ।
‘‘जो कृषक नियमित कृषि कार्यमा छन् तर सिंचाइको व्यवस्था नभएका करण समस्यामा परेका छन्, उनीहरुलाई लक्षित गरी सातवटै वडाबाट छनोट गरेर पठाइएका १८ जनालाई पानी तान्ने मोटर प्रदान गरिएको’’ गाउँपलिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।
कमल गाउँपलिकाका अध्यक्ष काफ्लेको हातबाट आज पानी तान्ने मोटर हस्तान्तरण गरिएको कृषि विकास शाखाका प्रमुख महेन्द्र बोहोराले जानकारी दिएका हुन् । उनका अनुसार ५ जना परिवारको २ विगाहाभन्दा बढी खेती भएका कृषकलाई सामुहिक रुपमा सिंचाई सुविधा उपलब्ध गराउनका लागि १८ थान पानी तान्ने मोटर प्रदान गरिएको हो ।
गाउँपालिकाले सुक्खा समय अन्तरगत फागुन, चैत, वैशाख र जेठ महिनामा सिंचाईमा प्रयोग हुने विद्युत महशुलमा ५० प्रतिशत अनुदान दिने नीति बनाएको अध्यक्ष काफ्लेले जनाएकी छन् ।
Comments