सिम्रिक साकोसको अर्धवार्षिक समीक्षाः लक्ष्यभन्दा राम्रो प्रगति भएको निश्कर्ष
Published:
by .बिर्तामोड । यहाँस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था आज माघ २४ गतेदेखि ११औं वर्ष प्रवेश गरेको छ । हरेक वर्ष सकारात्मक सिढी उक्लँदै गरेको सिम्रिक साकोसले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा लक्ष्यभन्दा राम्रो प्रगति गरेको छ ।
सञ्चालक समितिको अर्धवार्षिक प्रगति समीक्षा बैठकमा प्रस्तुत विवरण अनुसार शेयर सदस्य संख्या, शेयर रकम वृद्धि, निक्षेप संकलन, कर्जा लगानी, कर्जा असुली, कूल आम्दानी र नाफाजस्ता विषयमा लक्ष्यभन्दा बढी प्रगति गरेको जनाइएको छ ।
संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले दिएको तथ्याङ्क अनुसार शेयर सदस्य संख्या ४ हजार ५०० थप गर्ने लक्ष्य लिएकोमा १३२ प्रतिशत प्रगति गरेर ५ हजार ९३८ पुर्याइएको छ । यस्तै, शेयर रकम वृद्धितर्फ ७ करोड २१ लाख २२ हजार ५०० रुपैयाँ वृद्धि गर्ने लक्ष्य रहेकोमा १०२ प्रतिशत प्रगति गरेर ७ करोड ३२ लाख ७७ हजार ८०० रुपैयाँ थपिएको छ ।
संस्थाका कार्यकारी प्रमुख बस्नेतका अनुसार तरलता संकट झेलिरहेको अन्य वित्तीय क्षेत्रको तुलनामा सिम्रिकले निक्षेप संकलनमा अत्यन्त राम्रो प्रगति गरेको छ । ६ महिनाका लागि निर्धारित लक्ष्य १ अर्ब २६ करोडमा १४२ प्रतिशतले प्रगति गरेर १ अर्ब ७८ करोड ५३ लाख निक्षेप संकलन गरिएको हो ।
यस्तै कर्जा लगानीतर्फ पनि १४४ प्रतिशत प्रगति गरिएको छ । समीक्षा अवधिको ६ महिनामा संस्थाले ९६ करोड लगानी गर्ने लक्ष्य लिएकोमा १ अर्ब ३८ करोड ५० लाख रुपैयाँ लगानी गरिएको हो । कर्जा अशुलीतर्फ पनि १२३ प्रतिशतले प्रगति गरेको जनाइएको छ । समीक्षा अवधिमा ७० करोड ९४ लाख लक्ष्य लिइएकोमा ८७ करोड ५१ लख ९५ हजार अशुली भएको छ ।
कारोबारका सबै सूचकहरुमा लक्ष्यभन्दा राम्रो प्रगति भएपछि कूल आम्दानी र नाफामा पनि लक्ष्यभन्दा बढी प्रगति गरेको छ । प्राप्त तथ्याङ्क अनुसार कूल आम्दानी गर्ने लक्ष्यमा १३७ प्रतिशत प्रगति गरिएको छ भने नाफामा १४७ प्रतिशत भएको छ ।
जसअनुसार १ करोड २३ लाख ९० हजार नाफा गर्ने लक्ष्य लिएकोमा १ करोड ८३ लाख ३५ हजार रुपैयाँ नाफा गर्न सफल भएको समीक्षा गरिएको छ । यद्यपी वासलात वृद्धिमा भने ८५ प्रतिशतमात्र लक्ष्य हासिल गरेको जनाइएको छ । वासलात अंक लक्ष्यभन्दा कम हुनुमा निक्षेप फिर्ताको अंक अपेक्षा गरिएकोभन्दा बढी हुनुलाई लिइएको छ ।
संस्थाले वित्तीय आंकडामा प्रगति गरेजस्तै सदस्यप्रतिको दायित्व निर्वाहामा पनि कुनै कसर नराखेको समीक्षा गरिएको छ । साउन १ देखि गत माघ १५ गतेसम्मको समष्टिगत तथ्याङ्क अनुसार सदस्यहरुलाई उपचार सुविधा तथा विभिन्न प्रकारको राहत शीर्षकमा संस्थाले ३८ लाख ४६ हजार ३३४ रुपैयाँ खर्च गरेको छ ।
यस्तै ऋणि सदस्यको मृत्यु पछि वा अन्य कुनै कारणले सो अवधिमा १९ लाख ३३ हजार ६२४ रुपैयाँ मिनाहा गरिएको जनाइएको छ ।
Comments