Sajhamanch Archive

बागमती प्रदेश सहकारी मन्त्रालयको सचिवमा निरौला

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, सहकारी by .

झापा । प्रदेश १ सहकारी रजिष्ट्रारको कार्यालयमा एक वर्ष रजिष्ट्रारका रुपमा काम सम्पादन गरेका बलराम निरौला बागमती प्रदेश भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयको सचिवमा नियुक्त भएका छन् ।

उपसचिवबाट सह–सचिवमा बढुवा भएसँगै निरौलाले बागमती प्रदेश भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयको सचिवमा जिम्मेवारी पाएका हुन् । हालैको मन्त्रिस्तरीय निर्णयले निरौलालाई प्रदेश मन्त्रालयको सचिवको जिम्मेवारी दिएको उनको फेसबुक टाइमलाइनमा राखिएको पदस्थापन पत्रमा उल्लेख छ ।

देशका विभिन्न भागमा सहकारीको नियामक निकायहरुमा विभिन्न तहमा रहेर निरौलाले लामो अनुभव संगालेका छन् । तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाडौं र ललितपुरमा समेत निरौलाले डिभिजन सहकारी प्रमुख भएर काम गरेका थिए । सेवाका दौरान उनले विभिन्न जिल्लामा सहकारी हेर्ने निकायमा रहेर काम गरेको अनुभव छ ।

प्रदेश १ को सहकारी रजिष्ट्रार रहँदा निरौलाले ठूलो वित्तीय कारोबार गर्ने दर्जनौं सहकारी संस्थाहरुको सघन अनुगमन गरेर कानूनसम्मत नभएका अवस्थाबाट सुधार गर्न सुझाव दिने गरेका थिए । यस्तै, बचत तथा ऋण सहकारी संस्थाहरु बाहेक अन्य उद्देश्यले स्थापित सहकारी संस्थाहरुले पनि वित्तीय कारोबारमात्र गरिरहेको अवस्थालाई दृष्टिगत गरी दर्ताको उद्देश्यमा कारोबार गर्न निर्देशन गरेका थिए । सो कार्यलाई प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले निरन्तरता दिने बताइएको छ ।

पुँजी, संख्या र कारोबारका हिसाबले बागमती प्रदेशले सहकारी अभियानमा विशेष महत्व राख्दछ । सँगसँगै यस प्रदेशका सहकारीहरुमा विकृति र विसंगतिसमेत रहेको अवस्था विद्यमान छ । सहकारीमा विशेष दख्खल राख्ने निरौलाले बागमति प्रदेशको सहकारी अभियानलाई सबल, सक्षम र सुदृढ बनाउने आम अपेक्षा गरिएको सहकारी अभियन्ताले जनताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *