Sajhamanch Archive

सामुदायिक विद्यालयका बालबालिकालाई पोशाक वितरण गर्दै बिर्तामोड नगरपालिका

Published: in मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह by .

बिर्तामोड । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि बिर्तामोड नगरपालिकाले पोशाक वितरण शुरु गरेको छ । नगरभित्रका सामुदायिक विद्यालयमा अध्यनरत कक्षा ५ सम्मका विद्यार्थीहरुलाई विद्यालय पोशाक प्रदान गर्न शुरु गरिएको हो ।

बुधबार नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई, नगर शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, शाखा अधिकृत दिनेशप्रसाद आचार्य, शिक्षा अधिकृत जानुका रेग्मी, केशरबहादुर खवाससहितको टोलीले ४ वटा विद्यालयमा पुगेर पोशाक वितरण गरेको हो ।

बिर्तामोड नगरपालिका ६ बुट्टाबारीस्थित सरस्वती माध्यमिक विद्यालयमा १६४ जना, वडानम्बर ७ विरानमा रहेको लक्ष्मी आधारभूत विद्यालयमा ८३ जना, जनता प्राथमिक विद्यालय खालबाडीमा १४७ जना र वडा नम्बर ८ देउनियाँमा रहेको शुक्रराज आधारभूत विद्यालयमा १६८ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो ।

नगरप्रमुख शिवाकोटीले सामुदायिक विद्यालयमा अध्यनरत आर्थिक अवस्था कमजोर भएका र विपन्न परिवारका विद्यार्थीहरुको लागि पोशाक वितरण गरिएको बताएका छन् । अभिभावकहरुले पोशाक खरिद गर्न नसकेका कारण विद्यार्थीहरु विद्यालय जानसमेत नमान्ने गरेको भन्दै नगरपालिकाले पोशाक वितरण गर्दा बालबालिका विद्यालयप्रति आकर्षण बढ्ने समेत नगरप्रमुख शिवाकोटीको भनाई छ ।

उपप्रमुख पवित्रा महतारा प्रसाईले दैनिक ज्यालादारी गरेर छोराछोरी विद्यालय पठाए पनि ड्रेस किन्न नसक्ने अवस्थामा रहेका अभिभावकहरुलाई मध्यनजर गर्दै पोशाक वितरण गरिएको बताइन् । कतिपय विद्यार्थीहरुले आफूसँग अरुको जस्तो ड्रेस नभएका कारण मन दुखाउने, हिनताबोध गर्ने भएकाले पनि विद्यार्थीहरुमा एकरुपता ल्याउन पोशाक वितरण गरिएको उपप्रमुख महताराको भनाई छ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले पोशाक वितरणको मुख्य उद्देश्य समाता कायम गर्नु रहेको बताए । उनले सबै बालबालिकाहरुलाई एउटै प्रकारको पोशाकमा, एउटै खालको वातावरणमा घुलमिल हुन सिकाउने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको बताए । पोशाक वितरणले बालबालिकाहरुलाई विद्यालयमा नियमित गर्न सघाउ पुग्ने उनको विश्वास छ ।

विद्यार्थीहरुलाई पोशाक वितरण कार्यक्रममा बिर्तामोड ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङवा, वडा नम्बर ७ का कार्यवाहक वडाध्यक्ष चन्द्रकला पकुवाल, सिएच गार्मेन्ट बिर्तामोडका सञ्चालक मोति गौतम, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि लगायतको उपस्थिति थियो । बिहीबारदेखि नगरका २ वटा धार्मिकसहित बाँकी १६ वटा सामुदायिक विद्यालयमा पुगेर पोशाक वितरण गरिने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *