असोज १४ गतेदेखि बिर्तामोडमा डेंगु प्रिभेन्सन प्रोग्राम
Published:
by .बिर्तामोड । पूर्वको मुख्य व्यापारिक केन्द्रसमेतले परिचित बिर्तामोड सहर तथा बिर्तामोड नगरपालिका क्षेत्र डेंगु संक्रमणका कारण पनि बेलाबेलामा चर्चामा आइरहन्छ ।
विशेषगरी जाडो महिनामा डेंगु भाइरस सार्ने लामखुट्टे सक्रिय हुने भएकाले यो वर्ष नगरका बासिन्दालाई बेलैमा सजग गराउन बिर्तामोड नगरपालिकाले डेंगु प्रिभेन्सन प्रोग्राम यसैसातादेखि सुरु गर्ने भएको छ ।
बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगालले साझामञ्चलाई दिएको जानकारी अनुसार यही असोज १४ गतेदेखि १० वटै वडामा डेंगु प्रिभेन्सन प्रोग्राम सञ्चालन गर्न लागिएको हो ।
उनकाअनुसार डेंगु प्रिभेन्सन प्रोग्राम अन्तरगत सर्वसाधारण जनता, जनप्रतिनिधिहरु एवम् सामाजिक कार्यकर्ताहरुलाई जनचेतनामूलक अभिमुखीकरण गर्ने र सर्च एण्ड डिस्ट्रोइ अभियान चलाइने छ ।
बिर्तामोड नगरपालिका क्षेत्रमा डेंगुको संक्रमण सालैपिच्छे फैलिन थालेकोले यस्तो इन्डेमिक डिजिजलाई नियन्त्रण गर्न सर्वसाधारणमा जनचेतना हुनुपर्ने एवम् सर्च एण्ड डिस्ट्रोईको विधिबाट यस रोगको संक्रमण गर्ने लामखुट्टेको लार्भा तथा ब्रिडिङ सेन्टर नष्ट गर्ने कार्यहरु गरिने स्वास्थ्य शाखा प्रमुख दंगालले बताए ।
उनका अनुसार नगरपालिका अन्तरगत कार्यरत स्वास्थ्य जनशक्तिले हरेक वडामा गएर यी सबै कार्यहरु जनप्रतिनिधि तथा स्थानीय बासिन्दाको सहयोगमा सम्पादन गर्न सकिने भएकाले बाहिरबाट कोही आउने छैनन् ।
बिर्तामोड नगरपालिकाको वडा नं. १, ४, ५ र ८ नम्बर वडामा अलि बाक्लो बस्ती रहेकाले डेंगुको संक्रमण पनि सोही क्षेत्रमा बढी हुने स्वास्थ्य शाखा प्रमुख दंगालको आशंका छ ।
Comments