Sajhamanch Archive

जेलभित्र सिकेका कुरा बाहिर लागू भएमा समाज सभ्य बन्छः मन्त्री कार्की

Published: in प्रदेश तह, मुख्य समाचार, समाज by .

संखुवासभा । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले जेलभित्र सिकेका अनुशासनका कुरा बाहिर उपयोग गरेमा सभ्य समाजको निर्माण हुने बताएका छन् ।

आज सोमबार मन्त्रालयले संखुवासभा जिल्ला कारागारमा आयोजना गरेको कारागार भित्र मानव अधिकार प्रवर्धन तथा कानूनी सचेतना कार्यक्रममा बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

समाजमा अरू मानिसले अपराध नगरुन्, अपराध नबढोस् भन्न प्रतिनिधि पात्रका रूपमा कैदीहरू कारागारमा आएको भन्दै मन्त्री कार्कीले कारागारको बसाइलाई होस्टेल बसाइको रूपमा लिन पनि आग्रह गरे । जेलबाट बाहिर निस्किएपछि समाजले हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्नेमा उनको जोड छ ।

‘म जेलमा गए पनि म यही समाजको एक सदस्य हुँ, मैले जेलमा सिकेका कुरा समाजमा सिकाएर सभ्य समाज निर्माणमा सहयोग पुर्याउँछु भनेर लाग्नुपर्छ’ मन्त्री कार्कीको सुझाव छ ।

उनले कारागार भित्र कैदीबन्दीले पालना गरिरहेको अनुशासनको प्रशंसा गरेको मन्त्री कार्कीको सचिवालय अन्तर्गत सूचना तथा संचार शाखाले जनाएको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले १४ वटै जिल्लामा सचेतना कार्यक्रम गर्ने योजनाका साथ संखुुवासभामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । कारागार, कैदी, वैतानिक वकिलको अन्योन्याश्रित सम्बध रहेको भन्दै कारागारलाई व्यवस्थित बनाउन सबैको भूमिका महत्वपूर्ण हुने बताए ।

वैतानिक कानून व्यवसायी भवानी आचार्यले थुनुवालाई सूचनाको हकबाट वञ्चित रहेको भन्दै कैदीबन्दीले आफ्ना मुद्दाका बारेमा स्पष्ट सूचना पाउनुपर्ने जिकिर गरे । ज्येष्ठ नागरिकले पाउनुपर्ने भत्ता पनि नपाइरहेको भन्दै सो भत्ता कैदीले पाउनुपर्ने उनको सुझाव छ ।

प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले थुनुवा र कैदीको भवन छुटाछुटै हुनुपर्ने भन्दै खुल्ला कारागारको अवधारणामा जान सकिने प्रष्ट पारे । जिल्ला अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले कैदीबन्दीको समस्या समाधान गरिने आश्वासन दिए ।

विद्यार्थीहरुलाई सानै कक्षादेखि कानूनको शिक्षा दिनुपर्ने, कानूनका संशोधित पुस्तक कारागारमा उपलब्ध हुनुपर्ने जस्ता मागहरु कैदीबन्दीले पनि गरेका मन्त्री कार्कीको सचिवालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *