समाजमा अब्बल नारी बनाउँदै नारी सञ्चार गृह
Published:
by .बिर्तामोड । नारी दिवसको अवसरमा नारी संचार गृह झापाको आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं ९ को सहयोगमा महिला हिंसा विरुद्धको तीनदिने तालिम आइतबार सम्पन्न भएको छ ।
प्रदेशसभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न तालिम समापन कार्यक्रममा कार्कीले समाजमा हुने विभिन्न खाले हिंसाको अन्त्यका लागि महिलाहरू सचेत हुन जरुरी रहेको बताए । वर्तमान अवस्थामा कानूनी बाध्यताले मात्रै महिला सहभागिता भइरहेको बताउँदै सांसद कार्कीले सशक्त सहभागिताका लागि क्षमता अभिबृद्धि गर्न सुझाव दिए ।
विकासका नाममा छुट्टिएको बजेटको ठूलो हिस्सा कागजी रुपमा मात्र विकास हुने गरेको जिकिर गर्दै सांसद कार्कीले विकासमा हुने अनियमितता रोक्न पनि महिला सक्रियता जरुरी रहेको औंल्याए । राजनीति बिना विकास असंभव भए पनि विकासमा राजनीति गर्नु नहुने उनको भनाई छ । आउँदो स्थानीय चुनावमा ५० प्रतिशत महिलाहरुको सहभागिता हुनुपर्नेमा उनको जोड थियो ।
नारी सञ्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षतामा सञ्चालित तालिम समापन समारोहमा बिर्तामोड वडा नं ९ का वडा अध्यक्ष पवित्रा पाठकले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागी महिलाहरुलाई सुभाव दिइन् ।
कार्यक्रममा नेपाल प्रेस युनियन झापाका अध्यक्ष तथा नारी संचार गृह भापाका सल्लाहार ईन्दु पूर्वेली लगायतले मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष रेजिना गौतमले स्वागत गरेको कार्यक्रमको संचालन जोस्ना श्रेष्ठले गरेकी थिइन् ।
बिर्तामोड वडा नं ९ अन्तरगत विभिन्न टोल विकास समितिका ४५ जना महिलाहरुको सहभागिता रहेको ३ दिने तालिममा संस्थाका अध्यक्ष शिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई र नारी संचार गृहका सल्लहाकार तथा रेडियो बिराटका प्रबन्ध निर्देशक लिला अनमोलले सहजीकरण गरेका थिए ।
Comments