Sajhamanch Archive

आगलागी नियन्त्रणका लागि बिर्तामोडमा अभिमुखीकरण

Published: in मुख्य समाचार, समाज, स्थानीय तह by .

बिर्तामोड । अग्नि नियन्त्रण सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम आज बिर्तामोडमा सम्पन्न गरिएको छ । बिर्तामोड नगरपालिकाको आयोजना तथा डिएचएसएस सुरक्षा प्रालि भरतपुरको सह–आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

बिर्तामोड नगरपालिकाको सभाहलमा सञ्चालित अभिमुखीकरण कार्यक्रममा डिएचएसएस सुरक्षा प्रालिका प्रमुख छवि सापकोटाले आगलागी र त्यसको नियन्त्रणका लागि गर्नुपर्ने उपायका बारेमा प्रशिक्षण दिएका छन् । प्रशिक्षक सापकोटाले आगो नियन्त्रणका लागि प्रयोग हुने उपकरणको प्रयोग, आगलागीको समयमा गर्न हुने र नहुने कार्यहरुको बारेमा जानकारी गराएका हुन् ।

अभिमुखीकरण कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छबि रिजालले आगलागीका कारणहरु मध्ये भान्सामा खाना पकाउँदा हुने लापरवाही, विद्युत सर्ट भएर हुने आगलागी, चुरोटका ठुटाहरु जथाभावी फाल्दा हुने आगलागी, वनभोजमा खाना पकाएर आगो ननिभाउने लगायतबाट हुने जनाएका थिए ।

प्रमुख जिल्ला अधिकारी रिजालले झापाका १५ वटा पालिकाहरु मध्ये १० वटामा दमकल रहेको अवगत गराउँदै सोमध्ये एउटा पालिकाको दमकल बिग्रिएर थन्किएको अवस्थामा रहेको जानकारी दिए । आगो नियन्त्रणका लागि प्रयोग भइरहेका दमकलहरु पानीमात्र प्रयोग गरिने भएकाले फोमबाट चल्ने दमकल खरिद गर्न अतिआवश्यक भइसकेको प्रजिअ रिजालले बताए ।

नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपाने, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख विश्वमणि पोखरेल, नयाँ श्रीनाथ गण चारआलीका सेनानी अभिषेक बिष्ट, सशस्त्र प्रहरी बल झापाका प्रमुख प्रदिपसिंह कार्की, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सन्तोष आचार्य, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख निशेष चापागाईसहित जनप्रतिनिधि र कर्मचारीको सहभागिता थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *