Sajhamanch Archive

एनएमसीबारे मेरो अनुभूति

Published: in मुख्य समाचार, विचार/ब्लग, सहकारी, by .

म प्रत्यक्ष साक्षी छु । हालको एनएमसी स्थापना हुनुपूर्व काँकरभिट्टामा सर्वसाधारणले, बचत गर्न चाहने व्यक्तिले, रकम बचत गर्न पाउँदैनथे । हाम्रो यस्तो अवस्थालाई नजिकबाट नियालेका भारतीयहरुले फाइदा उठाइरहेका थिए । भारतको पानीटैंकीबाट आएर हामी काँकरभिट्टाबासीको रुपैयाँ बचत गरिदिने भनेर लैजाने गर्थे । हामीले बचत गरेको रुपैयाँ हाम्रो सोझोपनको फाइदा उठाएर सबै लिएर भागे । हाम्रो हारगुहार केही चलेन । लगे, खाए, पचाए अनि तुहाए ।

हुन त नेपालमा अहिले हजारौं बचत तथा ऋण सहकारी संस्था खुलेका छन् । कतिपय संस्थाका सञ्चालकले हाम्रो सोझोपनको फाइदा उठाएर गरीव बचतकर्तालाई रुवाएर नहिंडेका होइनन् । जुनसुकै संस्था पनि आफैं सक्षम हुँदैनन् । त्यसका चालकको क्षमतामा भर पर्दछ । चालक नै अनुशासित हुनुपर्दछ । हामीले बचत गरेको रमक सुरक्षित राखिदिनु पर्छ, सम्पत्ति बढाइदिनु पर्दछ । व्यक्तिले लिने भनेको परिश्रमको फलमात्र हो अन्यत्र गिद्दे नजर लगाउनु हुँदैन । आफू शुद्ध भएमात्र अरुलाई भन्न सकिन्छ ।

नरेन्द्रप्रकाश सिटौला

एनएमसीका संस्थापकदेखि हालसम्मकै अध्यक्ष रामचन्द्र उप्रेतीलाई पनि भारतीयहरुले गरेको ज्यादति विरुद्ध यस क्षेत्रका मानिसहरुबाट बचत संकलन गर्न हृदयदेखि नै मन लाग्यो । यसरी वचत कार्यक्रम गर्दा कसो हुन्छ भनेर उहाँले मसँग पनि सल्लाह लिनुभयो । त्यस्तै आफ्नै किराना दोकानमा बसेर धेरै व्यक्तिहरुबाट राय, सुझाव सल्लाह लिनुभयो र काँकरभिट्टाकै केही व्यक्तिहरुबाट शेयर रकम जम्मा गरी बचत संकलक राखी काँकरभिट्टा मेची बजारमा एउटा सानो कोठा भाडामा लिएर २०५० सालबाट यो संस्था शुरु भएको हो ।

यसले शुरुका दिनमा धेरै कठिनाई बेहोर्नुपर्यो । आफ्नो अर्को नभनी निष्पक्ष ढंगले अप्रेशनसमेत गर्नुभयो । अप्रेशन सफल भयो र संस्था क्रमशः अघि बढ्न थाल्यो । संस्थाले क्रमिकरुपमा आफ्नो शाखा (सेवा केन्द्र) विस्तार गर्न थाल्यो । संस्थाले विभिन्न उपसमिति निर्माण गर्ने काम थाल्यो । खेलकूद उपसमिति, महिला उपसमिति, स्वास्थ्य उपसमिति, कृषि उपसमिति, डेरी व्यवसाय लगायत ज्येष्ठ नागरिक सरोकार उपसमिति पनि निर्माण भयो । ज्येष्ठ नागरिक सरोकार उपसमितिको सुरुदेखि नै म सदस्य रहें । मलाई सदस्यमा निरन्तरता दिइयो र हाल उपसमितिको संयोजकको जिम्मेवारी दिइएको छ । संस्था र समितिलाई मेरो तर्फबाट धन्यवाद व्यक्त गर्दछु ।

यस संस्थाका सदस्य पनि थोरै, सेवा केन्द्र पनि थोरै भएकाले संस्थाले अपनाएको ७० वर्ष पूरा भएका आफ्ना सदस्यहरुलाई काँकरभिट्टा कार्यालयमा बोलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा नगद, फूलमाला, सम्मानपत्र र खादाले सम्मान गरी खाजाको समेत व्यवस्था गरिएको थियो । पछि ज्येष्ठ नागरिकहरुलाई दुःख नहोस् भनेर आ–आफ्नै सेवा केन्द्रमा बोलाई सम्मान गर्न थालियो । ज्येष्ठ नागरिकलाई देश दर्शन अन्तर्गत डेरी उद्योग अन्य सेवा केन्द्र, देवस्थल आदि घुमाउने कार्य भयो । यस संस्थाका उपसमितिहरुले तोकिएको समयमा तोकिएको जिम्मेवारी सबैले पूरा गर्दै आएको मलाई अनुभूति भएको छ ।

संस्थाले सर्वसाधारणको बचत जम्मा गर्ने मात्र काम गरेन । दोस्रो काम भनेको चुनौतीपूर्ण काम एनएमसी डेरी उद्योगमा हात हाल्यो । त्यो काम गर्न धेरै कठिनाई बेहोर्नुपर्यो । त्यसबेलासम्म हामी सर्वसाधारणहरुले दूधवाला, ग्वालाले दूधमा फोहोर पानी मिसाई ल्याएको प्रदुषित र पातलो दूध खान बाध्य थियौं । एनएमसी डेरी सञ्चालन कार्य सफल भएपछि शुद्ध खानयोग्य मीठो स्वास्थ्यकर दूध दही मोही, घिउ र विभिन्न प्रकारका मिठाई खान पाइएको छ ।

त्यस्तै एनएमसीले कृषि व्यवसाय शुरु गरेको छ । त्यहाँ माछापालन, गाइपालन साथै विभिन्न प्रकारका सब्जीहरु र त्यसका बेर्ना उत्पादन गरी बजारमा ल्याएको छ । यो सब्जी विषादीरहित छ भने भारतबाट आयात गरिएका सब्जीमा अत्याधिक विषादी प्रयोग भएको हुन्छ । त्यस्ता सब्जीले स्वास्थ्यमा नकारात्मक असर पर्दछ ।

त्यसैगरी विभिन्न ठाउँमा सुपथ मूल्य पसल खोलेको हुँदा दैनिक आवश्यक पर्ने विभिन्न सामानहरु सुपथ मूल्यमा पाइन्छ । त्यसैले पनि शेयर सदस्यहरु मात्र होइन सबै साधारण उपभोक्ताहरुलाई राहत भएको अनुभूति पाएको छु ।

एनएमसीले चिया उद्योगसमेत शुरुवात गरेको छ । त्यसबाट विषादीरहित शुद्ध चिया प्रयोग गर्न थालिएको छ । संस्थाले उत्पादन गरेको ग्रीनटीबाट मानिसहरुले स्वास्थ्यमा प्रत्यक्ष लाभ लिइरहेको मैले पाएको छु ।

संस्थाले पहिलो कार्यक्षेत्र काँकरभिट्टालाई बनाएको थियो । पछि क्रमशः झापा जिल्लालाई कार्यक्षेत्र बिस्तार गर्यो । अझ अगाडि बढेर प्रदेश १ लाई कार्यक्षेत्र बनाउने गरी मोरङ र इलाममा समेत सेवा केन्द्र स्थापना गरी सञ्चालनमा आएको छ ।

संस्थाले सक्षम ७०० भन्दा बढी युवालाई रोजगारी दिएको छ । बैंक तथा वित्तीय संस्थामा प्रतिष्पर्धा गर्न सक्ने अब्बल जनशक्तिहरु उत्पादन गरिरहेको छ । एनएमसीमा जागिर गरेर विभिन्न बैंकमा आवेदन गर्दा सहजै नाम निकालेको हामीले देखे सुनेका छौं । संस्थाले विभिन्न समयमा विभिन्न ठाउँमा सहकारी शिक्षा तालिम दिँदै आएको छ । पाँच वर्षअघि संस्थाले झापाभरि कागतीका विरुवा वितरण गरेको थियो । त्यसले कागतीमा झापालाई ठूलो राहत भएको अनुभूति भएको छ ।

संस्थाको कर्जा लगानी समयमा नै तिर्ने बुझाउने ऋणीहरुलाई उत्कृष्ट ऋणी ठहर्याई संस्थाले सम्मान गर्दै आइरहेको छ । संस्थाको कुशल नेतृत्व, कर्मचारीको कुशल व्यवहार, भ्रष्टचारमुक्त संस्था भएकोले शेयर सदस्यहरुको संख्या १ लाख २० हजार नाघिसकेको छ । कार्यक्षेत्रका विभिन्न ठाउँमा आफ्नै भवन बनाएर कारोबार सञ्चालन गरिरहेको छ भने संस्थाले भवन निर्माणका लागि विभिन्न स्थानमा जग्गा खरिद गरिसकेको छ र गरिरहेको छ ।

पछिल्लो समयमा कोभिड—१९ का कारण अगाडि जसरी एकै ठाउँमा हजारौंको संख्यामा शेयर सदस्यहरु भेला गरी वार्षिक साधारणसभा गर्न कठिनाइ भएको हुँदा नयाँनयाँ विधिको प्रयोग गरी यस संस्थाले २९औं वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ । आज २९औं स्थापना दिवस पनि संस्थाका ४८ वटा वित्तीय कारोबार गर्ने सेवाकेन्द्रमा हुन लागेको छ । एनएमसी डेरी उद्योग, एकीकृत नमूना कषि फर्म र चिया उद्योगमा पनि स्थापना दिवस कनाउन लागिएको छ । यसरी धेरै ठाउँमा स्थापना दिवस मनाउँदा सबै क्षेत्रका सदस्य एवम् सेवाग्राहीहरुले संस्थाबारे जानकारी लिन अझ सहज भएको मैले पाएको छु ।

हाल देशकै ठूलाठूला बैंकहरुले पनि तरलता संकट झेलिरहेका छन् । आर्थिक कारोबार लगभग ठप्प भएको अवस्थामा एनएमसीको कारोबारमा पनि केही कमी आउनु स्वभाविक नै मान्नुपर्छ । तर संस्थामा दिनप्रतिदिन शेयर सदस्यहरुको संख्यामा बृद्धि हुँदै जानु र देशकै ठूलो सहकारीका रुपमा दर्ज हुनु निश्चय पनि गौरवको कुरा हो । संस्था हरेक कुरामा सफल हुँदै भएको मलाई अनुभूति भएको छ । म संस्थाको सेयर सदस्य तथा उपसमितिको संयोजकको नाताले सम्पूर्णमा बधाईसहित शुभकामना व्यक्त गर्दछु । जय सहकारी, जय एनएमसी ।

लेखक एनएमसी ज्येष्ठ नागरिक सरोकार उपसमिति संयोजक हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *